स्वाधीनता र संविधानको रक्षाका लागि सूर्यमा मतदान गरौँ : महेश बर्तौला
हेटौंडा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले स्वाधीनता र संविधानको रक्षा गर्न सूर्य चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका छन् । शनिबार (आज) बिहान हेटौँडा उपमहानगरपालिका–१ अन्तर्गत चौकीटोल हुँदै चाइना क्वार्टरका विभिन्न बस्तीमा सम्पन्न घरदैलो कार्यक्रमको समापन गर्दै बतौलाले स्वाधीनता र संविधान रक्षाका लागि एमालेको सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा उपस्थित नेता, कार्यकर्ता, युवा र समर्थकहरूलाई धन्यवाद व्यक्त गर्दै बर्तौलाले एमाले केवल सरकार बनाउने वा पद हासिल गर्ने उद्देश्यका लागि नभई मुलुकको जटिल अवस्थाबाट निकास दिन निर्वाचनमा होमिएको स्पष्ट पारे । निर्वाचन सामान्य प्रतिस्पर्धा नभएर देशको भविष्य र राष्ट्रिय हितसँग जोडिएको ऐतिहासिक अवसर रहेको बर्तौलाको भनाइ थियो ।

नेकपा एमाले राष्ट्रहितका सवालमा अडिग रहेको उल्लेख गर्दै उनले भने, ‘अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले नेपाललाई आफ्नो स्वार्थपूर्तिको माध्यम बनाउन खोजिरहेका छन्। यस अवस्थामा राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा हाम्रो पहिलो जिम्मेवारी हो। हामी राष्ट्रहितमा कुनै सम्झौता गर्दैनौँ ।’
प्रतिनिधिसभा देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था भएकाले मतदाताले आवेग, उत्तेजना वा आक्रोशमा नभई विवेक र तथ्यका आधारमा मतदान गर्नुपर्ने उनको आग्रह गर्दै बर्तौलाले सामाजिक सञ्जालले फैलाएको भ्रममको आधारमा मत दिन नहुने बताए ।

स्थानीय मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै बर्तौलाले सीमावर्ती बस्ती, भूमिहीन किसान, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई धनीपूर्जा उपलब्ध गराउने विषय संसदमा सशक्त रूपमा उठाउने बताए । उनले मतदातालाई सम्झाए, ‘हामी केवल मतका लागि होइन, सेवा र जिम्मेवारीका लागि यहाँ आएका हौँ ।’
प्रतिनिधित्व र समानुपातिकतर्फ दुई मतपत्र हुने स्मरण गराउँदै उनले सूर्यमा मतदान गरी राष्ट्र निर्माणको स्पष्ट दृष्टिकोण बोकेको उम्मेदवारलाई समर्थन गर्न अपील गरे । बर्तौलाले जनताको विश्वास र साथले आगामी निर्वाचनमा एमालेको विजय सुनिश्चित भएको बताए । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका–१ नम्बर वडा कमिटीको आयोजनामा भएको घरदैलो कार्यक्रम उत्साहजनक सहभागिता सहित सम्पन्न भएको थियो ।


