चुनावको मुखैमा झापामा घोषणा भयो नेसनल भोलेन्टियर फोर्सको ‘युनिफाइड कमाण्ड’
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोसी प्रदेश स्तरीय ‘नेसनल भोलेन्टियर फोर्स’को युनिफाइड कमान्ड घोषणा गरेका छन् । ओलीले देशको समृद्धि र शान्तिका लागि युवाहरूलाई परिचालित हुन निर्देशन दिए ।
दमकमा आयोजित घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो फोर्स केवल चुनावका लागि मात्र नभई देशमा सुशासन कायम गर्न र अराजकता रोक्नका लागि सधैँ क्रियाशील रहने स्पष्ट पारे ।कार्यक्रममा सुरज सावा लिम्बुको नेतृत्वमा ४८ सदस्यीय प्रदेश स्तरीय युनिफाइड कमान्ड घोषणा गरिएको छ । सङ्गठनको संरचनाबारे चर्चा गर्दै ओलीले प्रदेशमा युनिफाइड कमान्ड, जिल्लामा कोर्डिनेटर कमान्ड, पालिकामा एक्टिभ कमान्ड र टोल स्तरमा सुरक्षा समिति रहने जानकारी दिए ।
उनले विगतमा राज्यका सर्वोच्च निकायहरू सिंहदरबार, संसद् र न्यायालयमाथि भएका आक्रमणका घटनाहरू स्मरण गर्दै अब यस्ता अराजक र आतङ्ककारी गतिविधि हुन नदिन भोलेन्टियर फोर्सले ढालको रूपमा काम गर्ने दाबी गरे ।ओलीले भने, ‘अब प्रहरी एक्लै छैन, शान्ति सुरक्षा र अमनचैन कायम गर्न प्रहरीका साथमा नेसनल भोलेन्टियर फोर्स उभिनेछ ।’
राष्ट्रियताको प्रसङ्ग उठाउँदै अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गरेकै कारण आफू र आफ्नो पार्टीमाथि चौतर्फी घेराबन्दी भएको उल्लेख गरे । विदेशी शक्तिहरूको अगाडि घुँडा नटेकी राष्ट्रियताका पक्षमा चट्टान सरी उभिएकै कारण एमालेलाई सत्ताबाट बाहिर पुर्याएको उनको तर्क थियो ।
ओलीले एमाले बाहेक अरू कसैले पनि आत्मविश्वासका साथ देशको विकास गरेको दाबी गर्न नसक्ने बताउँदै हुलाकी राजमार्ग, ऊर्जा क्षेत्रको विकास र सामाजिक सुरक्षाका कामहरूले एमालेको पहिचान स्थापित गरेको बताए । दैलेखको ग्यास खानी, फलाम खानी र देशव्यापी सडक सञ्जालको विस्तारले नेपाललाई समृद्ध बनाउने आधार तयार भएको बताउँदै ओलीले अधुरा काम पूरा गर्न फेरि पनि एमालेकै नेतृत्व आवश्यक रहेकोमा जोड दिए ।
दमकको रङ्गशाला निर्माणमा केही दलहरूले अवरोध सिर्जना गरेको गुनासो गर्दै ओलीले जसरी पनि रङ्गशाला बनाएरै छोड्ने दृढता व्यक्त गरे । अध्यक्ष ओलीले आफूले सरकारको नेतृत्व छाडेपछि देशको अवस्था ड्राइभरबिनाको गाडीको जस्तो भएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले एमालेको नेतृत्वको सरकार ढलेपछि विकासको गति रोकिएको र देश दिशाहीन बनेको दाबी गरे ।
‘मैले काम गर्न थालेपछि विकास विरोधीहरू थर्कमान हुन्छन् र काम रोक्नका लागि मलाई सरकारबाट हटाइन्छ, ओलीले भने, ‘म सरकारबाट हटेपछि देश ड्राइभरबिनाको गाडी जस्तो हुन्छ, जहाँको त्यहीँ बस्छ। तर म नेतृत्वमा फर्किने बित्तिकै फेरि देश कुद्न थाल्छ।’
कार्यक्रममा फोर्सका राष्ट्रिय कमान्डर पुष्पराज श्रेष्ठले भूगोल र राजनीतिक उतारचढावका बिच पनि देशलाई सही दिशा दिन युवा शक्तिको सक्रियता जरुरी रहेको बताए। नव घोषित समितिका सदस्यहरूलाई अध्यक्ष ओलीले खादा ओढाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।


