उम्मेदवारका ठुलठुला घोषणा- किसानलाई मल, बिउ र सिँचाइकै समस्या
प्रतिनिधि सभा निर्वाचनका लागि मतदान हुन अब ११ दिन मात्र बाँकी रहँदा उम्मेदवारहरू उत्साहका साथ चुनाव प्रचारमा छन्। विभिन्न रंगिचंगी सपना बोकेर मतदाता रिझाउन उम्मेदवारलाई भ्याइनभ्याइ छ।
तर, आम मतदाता भने यसपटक कसलाई मत दिने भन्नेमा अन्योल देखिन्छन्। वर्षौंदेखि अनेक समस्याले पिरोलिरहेका मतदाता कुनै पनि दल र उम्मेदवारलाई हतपत विश्वास गर्न तयार देखिँदैनन्। मकवानपुरका मतदाता आ-आफ्नै ढंगले आन्तरिक छलफलमा व्यस्त देखिन्छन्। बजार क्षेत्रका चिया पसलदेखि ग्रामीण भेगका खेतबारीसम्म अहिले एउटै विषयमा बहस चलिरहेको छ- यसपटक मत कसलाई दिने?
दैनिक कामकाजसँगै मतदाताहरू उम्मेदवारको विगत, प्रतिबद्धता र पहुँचको समीक्षा गरिरहेका छन्। मतदाताको प्रमुख गुनासो नै हार जित भएर गएपछि निर्वाचन क्षेत्र फर्किएनन् भन्ने छ। खानेपानी, सडक स्तरोन्नति, कृषि बजार व्यवस्थापन, रोजगारी र स्वास्थ्य सेवा जस्ता आधारभूत विषयमा ठोस काम नदेखिएको उनीहरूको गुनासो छ। दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा यसपटक ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। उम्मेदवारहरू घरदैलो, सभा-सम्मेलन र सामाजिक सञ्जालमार्फत मत माग्न उत्साहित देखिए पनि मतदातामा भने त्यस्तो उत्साह झल्किँदैन। अघिल्ला निर्वाचनका वाचा पूरा नभएको अनुभवले धेरै मतदाता यसपटक सतर्क र मौन देखिन्छन्।
कतिपय मतदाता विकल्प खोज्ने मनस्थितिमा छन् भने केही अझै अन्योलमा छन्। निर्वाचनका बेला अनेक आश्वासन बोकेर मतदाता भेट्न आउने उम्मेदवारहरू विजयी भएपछि भने गाउँ-टोलमा फर्केर नआउने प्रवृत्ति पुरानै समस्या भएको पाका मतदाताहरू बताउँछन्। पञ्चायतकालदेखि निरन्तर मतदान गर्दै आएका ज्येष्ठ नागरिकहरूको अनुभवमा चुनावअघि हात जोड्दै घरदैलो गर्ने नेताहरू जितेपछि सम्पर्कविहीन हुने परम्परा अझै तोडिएको छैन। मकवानपुरको मकवानपुरगढी गाउँपालिका-३ घर भएका ६० वर्षका हरिप्रसाद दाहालका अनुसार हरेक निर्वाचनमा सडक, खानेपानी, सिँचाई, स्वास्थ्य चौकी, रोजगारीलगायतका विषयमा आकर्षक प्रतिबद्धता गरिन्छ। तर परिणाम घोषणा भइसकेपछि ती वाचा कार्यान्वयनमा गम्भीरता देखिँदैन।
‘चुनावताका त दिनमै दुई-तीन पटकसम्म भेट्न आउँछन्, जितेपछि पाँच वर्षसम्म अनुहार देख्न पाइँदैन,’ उनी भन्छन्, ‘हामी किसानको समस्यै समस्या छ। न भनेको बेला मल पाइन्छ, न त बिउ बिजन पाइन्छ। खेतको अलि तलबाट खोला बग्छ, मोटर लगाएर खेति गर्छौँ भन्दा सरकारले बिजुलीको मिटर दिँदैन। हाम्रो समस्या कति छ कति। केही पूरा हुँदैन।’
त्यसो त, उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार लगाएतको एजेन्डा लिएर भेट्न आए पनि कृषि क्षेत्रका कुनै एजेन्डा नसमेटिएको कृषकको गुनासो छ। चैते धान लगाउने बेला मलको हाहाकार, उन्नत जातको मकै र धानको बिउको अभाव र सिँचाईको अभाव खेपिरहेका किसानले यो समस्या समाधान गर्छु भन्ने कुनै उम्मेदवार नपाएको गुनासो गरेका छन्।
यता, अघिल्ला निर्वाचनमा भन्दा आगामी निर्वाचनको शैलि फेरिएको मतदाता महसूस गरिएको बताएका छन्। नयाँ दलका नयाँ उम्मेदवारहरू घरदैलोमा आइरहेका कारण मन घुमिरहेको उनीहरूको भनाइ छ। तर नयाँ र पुरानो कसैले पनि जनताको लागि केही नगर्ने उनीहरू सुनाउँछन्। हेटौंडा उपमहानरपालिका-६ चौघडाकी ५२ वर्षीया तुलसा सञ्जेल उम्मेदवारहरूले यो गर्छौँ, त्यो गर्छौँ भनेर भाषण गरेको सुन्दा दिक्क लाग्दै आएको बताउँछिन्। खेतको गह्रामा मटरकोसा टिप्दै गरेकी सञ्जेल सबै राजनीतिक दलदेखि अघाएकी छिन्।
हामी नयाँ दल, हामीले नयाँ काम गर्छौँ भन्दै टोलमा आउने उम्मेदवारहरू देखेर दिक्क लागेको बताउँदै उनले भनिन्, ‘न नयाँले केही गर्छन्, न त पुरानाले नै केही गर्छन्। यो गर्छु, त्यो गर्छु भन्ने त चुनावी भाषण मात्रै हो। जनताको समस्या जस्तोको त्यस्तै छ। पुरानालाई त घुर्की लगाउन पाइएला। तर नयाँलाई विश्वास गर्न सकिदैँन। यो देशमा किसानको समस्या कहिल्यै हल हुन्न।’
मकवानपुरगढी गाउँपालिका-६ का ३८ वर्षका रुपक दाहाल दलहरूले पहिलो प्राथमिकतामा किसानका समस्या समाधानका ऐजेन्डा राख्नुपर्नेमा त्यस्तो नभएको गुनासो गर्छन्। ‘अधिकांश मानिसहरु कृषि पेशामै आवद्ध छौँ, तर उम्मेदवारहरूको चुनावी एजेन्डा उद्योग खोल्ने, रोजगारी सिर्जना गर्ने भन्ने छ,’ उनले भने, ‘माटो खनेर, गाईवस्तुको गोबर सोरेर स्वालम्बी भैरहेका हामी किसानका लागि समयमा मल, बिउ विजनमा सहजता बनाइदिए हुन्थ्यो भन्ने लाग्छ।’
स्थानीय तहदेखि प्रतिनिधि सभासम्मका जनप्रतिनिधिहरूले नियमित जनसम्पर्क, सार्वजनिक सुनुवाइ र प्रगति विवरण सार्वजनिक गर्ने अभ्यास बलियो नहुँदा जनविश्वास कमजोर बन्दै गएको उनीहरूको धारणा छ। मत माग्ने बेला मात्र होइन, कार्यकालभरि जनतासँग प्रत्यक्ष संवाद र जवाफदेहिता सुनिश्चित गरिनुपर्ने उनीहरूको जोड छ।
राजनीतिक विश्लेषकहरू भने मतदाताले पनि निर्वाचनपछि जनप्रतिनिधिसँग निरन्तर खबरदारी गर्नुपर्ने बताउँछन्। सामाजिक सञ्जाल, सार्वजनिक कार्यक्रम र स्थानीय बैठकमार्फत प्रतिबद्धताको समीक्षा गर्ने संस्कार विकास भए मात्र ‘जितेपछि हराउने’ प्रवृत्तिमा सुधार आउन सक्ने मकवानपुरका राजनीति विश्लेषक भोजराज ढकाल बताउँछन्। जननिर्वाचित सांसदको भूमिका जनतासमक्ष बढी देखिनुपर्ने उनको भनाइ छ।
दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुर क्षेत्र नम्बर १ मा २३ र २ मा २१ जनाले उम्मेदवारी दर्ता गरेका छन्। जिल्लाभर कुल ३ लाख १५ हजार ३३४ मतदाता छन्।


