झापामा आज ‘नेपालको निजी क्षेत्रसँग पूर्वप्रधानमन्त्री केपी शर्मा ओली’

पालिका डायरी
९ फाल्गुन २०८२, १२:२९
झापामा आज ‘नेपालको निजी क्षेत्रसँग पूर्वप्रधानमन्त्री केपी शर्मा ओली’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापामा निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने भएका छन् ।  पूर्वप्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा दिउँसो ३ बजे हुने अन्तरक्रियामा सहभागी हुने भएका हुन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) को आयोजनामा हुने उक्त कार्यक्रममा दुईवटा प्यानल डिस्कसन समेत राखिएको छ । हिसानका अध्यक्ष युवराज शर्माका अनुसार ‘नेपालको निजी क्षेत्रसँग पूर्व प्रधानमन्त्री केपी शर्मा ओली’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको हो ।

अन्तरसंवादमा निजी क्षेत्रका मुख्य ६ वटा क्षेत्रलाई समेटेर प्यानल डिस्कसन गरिने शर्माले जानकारी दिए । निजी क्षेत्र,नीतिगत सुधार तथा युवा केन्द्रित आर्थिक रुपान्तरणका विषयमा शिक्षा, उर्जा, उद्योग व्यावसाय, स्वास्थ्य, सूचना प्रविधिका क्षेत्रमा नेपालका सम्भावना र चुनौतिका विषयमा छलफल गरिनेछ ।

प्यानल छलफलमा हिसानका पूर्वअध्यक्ष रमेश कुमार सिलवाल, इपानका अध्यक्ष गणेश कार्की, प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरी, मेडिकल एसोसिएसनका अध्यक्ष डा ज्ञानेन्द्र कार्की, आईटी उद्यमी सुलभ बुढाथोकी र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं ससहभागी हुनेछन् ।

प्यानलमा सहभागी वक्ताहरूले आफ्ना क्षेत्रका तत्कालीन र दीर्घकालीन समस्या र समाधानका उपाय, नीतिगत अवरोध र नयाँ सरकारसँग आफ्ना अपेक्षा राख्नेछन् । यसैगरी जेन जेड र निजी क्षेत्रका विषयमा पनि छलफल हुने शर्माले जानकारी दिए ।

उनका अनुसार प्यानल छलफलमा उठेका जिज्ञासा, नीतिगत अवरोध र देशले अँगालेको नीजी क्षेत्रसम्बन्धी नीतिबारे अध्यक्ष ओलीले आफ्ना धारणा राख्नेछन् । कार्यक्रम दिउँसो ३ बजे दमक चोकस्थित गोरखा डिपार्टमेन्टको सगरमाथा हलमा आयोजना हुनेछ । कार्यक्रममा सहभागिताका लागि अध्यक्ष ओली आज काठमाडौँबाट झापा पुग्दै छन् ।

प्रतिक्रिया