सनसाईन बोर्डिङको २६ औं अभिभावक दिवस सम्पन्न
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–३ बसामाडी स्थित सनसाईन इंलिस बोर्डिङ स्कुलको २६ औं अभिभावक दिवस सम्पन्न भएको छ । बुधबार (हिजो) बाट सुरु भएको अभिभावक दिवसको बिहीबार (आज) समापन गरिएको हो । अभिभावक दिवसको अवसरमा विद्यार्थीहरुले नृत्य, गायन, उद्घोषण र नाटक प्रदर्शन गरेका थिए । सनसाईन बोर्डिङ स्कुलका प्रधानाध्यापक राजकुमार नहर्कीको सभाध्यक्षतामा भएको कार्यक्रमको दोस्रो दिन हेटौंडा उपमहानगरपालिका–३ का वडाध्यक्ष ढलक थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि थापाले सनसाईन बोर्डिङ स्कुल वडाकै उत्कृष्ट शैक्षिक हबको रुपमा विकास भैरहेको बताए । विद्यालयको राष्ट्रिय परिक्षाहरुको उत्कृष्ट नतिजाले वडाको समेत इज्जत धानिरहेको वडाध्यक्ष थापाको भनाइ थियो । ‘वडामै धेरै विद्यार्थी रहेको यस विद्यालयको शैक्षिक गुणस्तर लोभलाग्दो छ,’ उनले भने, ‘वडा कार्यालयले अन्य विकाससँगै शैक्षिक क्षेत्रको विकासको लागि पनि काम गर्दै आएको छ । विद्यालयको स्तरउन्नोतीका लागि वडाले सहयोग गर्ने प्रतिवद्धता जनाउँछु ।’
यस्तै, कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले हेटौंडा उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क भन्दा पनि कम शुल्कमा यस विद्यालयले विद्यार्थी अध्ययन गराउँदै आएको बताए । अरु निजी विद्यालयहरुले शुल्क बढायो भनेर गुनासो सुनिरहन परेका बेला सनसाइन बोर्डिङ स्कुलले भने तोकिएको शुल्कभन्दा कम शुल्कमा अध्ययन गराएको उनको भनाइ थियो ।

सौलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयमा बालबालिका पढाउन पाउने अभिभावकहरु भाग्यमानी भएको संज्ञा दिदैँ उनले भने, ‘भूकम्प प्रतिरोधी भवन छ । मासिक शुल्क अन्तको भन्दा कम छ । राष्ट्रिय परिक्षामा सधैँ राम्रो नतिजा ल्याउन सफल छ । यो कारण पनि तँपाई अभिभावकहरु भाग्यमानी हुनुहुन्छ ।’
कार्यक्रमका अर्का विशिष्ट अतिथि प्याब्सन बागमती प्रदेशका सल्लाहकार मदन दाहालले विद्यार्थीहरु भविष्यको कर्णाधार भएको बताए । पछिल्लो समय निजी विद्यालयहरुले गुणस्तरीय शिक्षाको लागि विषयविज्ञ शिक्षकहरु राखेर मेहेनतका साथ अध्ययन गराइँदा सामुदायिक विद्यालयको तुलनामा निजी विद्यालय अब्बल देखिएको दाबी गरे ।
यता, कार्यक्रमका सभाध्यक्ष एंव् विद्यालयका प्रधानाध्यापक राजकुमार नहर्कीले सानो कोठाबाट सुरु भएको विद्यालय अहिले १ हजार विद्यार्थी पढ्ने थलोको रुपमा विस्तार गर्न सकिएको बताए । उनले हालसम्म १८ वटा एसईई व्याज उतारेको बताए । २०६६ सालबाट एसएलसीमा समावेश गरिएको नहर्कीको भनाइ छ । ‘हामीले अहिले २६ औं अभिभावक दिवस मनाइरहे पनि हाम्रो स्थापना ३३ वर्ष भैसक्यो, उनले भने, ‘विद्यार्थी संख्या देखि परिक्षाको नतिजासम्म हामी अगाडि छौं । अब कक्षा ११ र १२ अंग्रेजी माध्याममा व्यवस्थापन संकायको अध्ययन गराउने तयारी थालेका छौं । यही वर्षबाट यो पनि सुरु हुन्छ ।’

नेपाल सरकारबाट छात्रवृत्तिमा निशुल्क एमबीबीएस पढ्न पाउने गरी नाम निकाल्न सफल यस विद्यालयका पूर्व विद्यार्थी रितिज अर्याल र स्मृती पौडेलको उदाहरण दिदैँ प्रधानाध्यापक नहर्कीले यस सहित अन्य क्षेत्रमा पनि अब्बल विद्यार्थी उत्पादन गर्न सकिएको स्मरण गराए ।
अभिभावक दिवसको पहिलो दिन कक्षा २ देखि १० कक्षासम्मका विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने दोस्रो दिन नर्सरी देखि कक्षा १ सम्मका विद्यार्थीहरुले प्रतिभा प्रस्तुत गरेका थिए ।


