यस्तो छ मकवानपुर–२ का उम्मेदवार महेश बर्तौलाको १० बुँदे प्रतिवद्धता
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवार बनेका महेश कुमार बर्तौलाले १० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आउँदो निर्वाचनमा आफ्ना १० बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
बर्तौलाले मध्यवर्ती क्षेत्रका समस्याको दिगो समाधानलाई पहिलो प्राथमिकतामा राखेका छन्। भूमि समस्या समाधानका लागि कानूनी सुनिश्चितता, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा न्यायोचित क्षतिपूर्ति र मध्यवर्ती क्षेत्रको सिमाना हेरफेरका विषयमा आवश्यक पहल गर्ने उनको प्रतिवद्धता छ।
पूर्वाधार विकासअन्तर्गत खानेपानी, सिंचाइ, कृषि तथा सञ्चार पूर्वाधार विस्तार, बस्ती संरक्षण तटबन्धन, सडक र पुल निर्माणलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ । विशेषगरी रूपचन्द्र विष्ट मार्ग (मनहरी–राक्सिराङ–कैलाश–थाहा जोड्ने सडक) को निर्माण तथा स्तरोन्नतिमा पहल गरिने उल्लेख गरिएको छ। साथै, स्वास्थ्य सेवामा नागरिकको सहज र सरल पहुँच स्थापना गर्ने योजना अघि सारिएको छ।
कृषि क्षेत्र सुदृढीकरणका लागि दुग्धजन्य र मासुजन्य उत्पादनको बजार विस्तार गर्दै ‘खोरेतमुक्त मकवानपुर’ अभियान सञ्चालन गरिने, वन्यजन्तुबाट हुने बाली क्षतिमा न्यायोचित क्षतिपूर्ति तथा नियन्त्रणका लागि कानूनी र संरचनागत व्यवस्था गरिने प्रतिवद्धता सार्वजनिक गरिएको हो। सहकारी, कृषि र वन स्रोतको परिचालनमार्फत रोजगारी तथा स्वरोजगार सिर्जना गर्ने योजना पनि अघि सारिएको छ ।
शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा ‘एक पालिका–एक आवासीय विद्यालय’ अवधारणाअनुसार शैक्षिक पूर्वाधार विकास, ‘पढ्दै कमाउँदै’ कार्यक्रमको नीतिगत सुनिश्चितता, युवा–विद्यार्थीसँग संसदीय संवाद कार्यक्रम सञ्चालन तथा मनहरीमा मदन भण्डारी क्षेत्रीय रंगशाला निर्माणमा पहल गरिने उल्लेख गरिएको छ। युवा उद्यम प्रवद्र्धन, स्टार्टअप कर्जा सहजता र कर्जाको सीमा वृद्धि गर्न प्रतिवद्ध रहेको बर्तौलाले बताए ।
कानून तथा नीति निर्माण प्रक्रियामा जनसहभागिता सुनिश्चित गर्ने, विभिन्न जाति, जनजाति, सिमान्तकृत समुदाय, महिला, दलित तथा अपाङ्गता भएका व्यक्तिको अधिकार, ज्ञान, सीप र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रतिवद्धता पनि सार्वजनिक गरिएको छ ।
यसैगरी, जनताका विकास आयोजनालाई सम्बोधन गर्न संसदीय निर्वाचन क्षेत्र विकास कार्यक्रम लागू गर्न पहल गरिने, राक्सिराङ–कैलाश गाउँपालिकामा ‘समृद्धि विशेष कार्यक्रम’ सञ्चालन तथा थाहा, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका समेटेर उत्तरी मकवानपुरमा पर्यटन सर्किट निर्माण गरिने योजना अघि सारिएको छ । देशव्यापी रूपमा बढ्दो लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि कानूनी तथा संरचनागत सुधारसहित अभियान सञ्चालन गर्ने र स्थानीय, प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी मकवानपुरमा उद्योगधन्दा सञ्चालनका लागि लगानीमैत्री वातावरण निर्माण गर्ने उम्मेदवारको भनाइ छ ।
बर्तौलाले समृद्ध, सुरक्षित र अवसरयुक्त मकवानपुर–२ निर्माणका लागि आफूलाई जिताउन मतदातासँग आग्रह गरेका छन् । बर्तौला २०७९ को प्रतिनिधि सभा निर्वाचनमा यसै क्षेत्रबाट पहिलो पटक संसदीय निर्वाचनमा होमिएका थिए । त्यतिबेला सत्ता गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडालाई ४ हजार ५२० मतान्तरले पराजित गर्दै विजयी भएका उनी दोस्रो पटक निर्वाचनमा होमिएका हुन्। आगामी निर्वाचनमा यस क्षेत्रमा उनी सहित २१ उम्मेदवारहरु चुनावी मैदानमा छन् ।


