चारपटक पराजित डिना भन्छिन्: यो पालि मेरो मेहनत डबल छ (अन्तर्वार्ता)

पालिका डायरी
७ फाल्गुन २०८२, १५:२६
चारपटक पराजित डिना भन्छिन्: यो पालि मेरो मेहनत डबल छ (अन्तर्वार्ता)

नेपाली कांग्रेसकी प्रभावशाली महिला नेता महालक्ष्मी उपाध्याय डिना पटक/पटक चुनाव हारिहरने उम्मेदवारका रूपमा परिचित छिन् । कांग्रेसको निवर्तमान सहमहामन्त्रीसमेत रहेकी डिना मकवानपुरबाट प्रतिनिधि सभा निर्वाचनमा ४ पटक पराजित भइसकेकी नेता हुन् ।

यसैबिच उनी फेरि यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पनि मकवानपुर-१ बाट उम्मेदवार बनेकी छन् । २०७९ को निर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार बनेर यसै क्षेत्रमा चुनाव लडेकी डिना राप्रपाका दीपकबहादुर सिंहसँग २ हजार ३८२ मतान्तरले हारेकी थिइन् । त्यसअघि २०४८, २०५१ र २०७४ का चुनावमा पनि उनी पराजित भएकी थिइन् ।चारपटक हार बेहोरेकी डिना अहिले सोही क्षेत्रबाट पाँचौँपटक चुनाव लड्दै छिन् । यसै सन्दर्भमा उनीसँग कुराकानी गरेको छ :

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै छ, तयारी कस्तो छ ?
अहिले हाम्रो पार्टीबाटै एउटा कार्ययोजना बनाइएको छ। जसअनुसार गाउँ, नगर, वडा तहमा पार्टीका साथीहरूको क्रियाशीलता बढाउन कार्यक्रम भइरहेका छन् ।

तपाईं मतदाताकहाँ कस्ता एजेन्डा लिएर गइरहनुभएको छ ?
मेरो एजेन्डामा मुख्य रूपमा चार पक्ष छन् । पहिलो युवा- आन्दोलनले देखाएको छ कि युवामा लगानी पर्याप्त भएको छैन । त्यसैले उनीहरूको सहभागिता, दक्षता र क्षमता कसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रकट गर्ने भन्ने मेरो प्राथमिकता हो । दोस्रो महिला- महिलाको सशक्तीकरण र अधिकारका लागि सधैँ लडिरहेकी छु । तेस्रो खेलकुद- नेपालले अन्तर्राष्ट्रिय स्तरमा नाम कमाउँदै छ । मकवानपुरलाई खेलकुदको केन्द्र बनाएर अन्तर्राष्ट्रिय रूपमा चिनाउने मेरो लक्ष्य छ ।

चौथो किसान र कृषि- किसानहरूको समस्या धेरै छन्, सिँचाइ, मलबीउ, खाद्य सुरक्षा। किसानलाई आर्थिक रूपमा सशक्त बनाउनु राष्ट्रको समृद्धि सुनिश्चित गर्ने मार्ग हो । यी चारवटै एजेन्डाका साथ मैले मतदातासँग प्रतिबद्धता प्रस्तुत गरिरहेकी छु ।

तपाईं यसअघि चारपटक पराजित भइसक्नुभएको उम्मेदवार, पाँचौँपटक उम्मेदवार बन्दा मतदाताबाट कस्ता प्रतिक्रिया पाइरहनुभएको छ ?
त्यतिबेला पनि मैले मतदाताहरूको राम्रो स्वागत पाएको थिएँ, तर प्राविधिक कारणले गर्दा निर्वाचनको परिणाम अनुकूल आएन । मेरो हार प्राविधिक कारणले भएको थियो । अहिले ती प्राविधिक समस्या मिलाउन पार्टी नेतृत्वका धेरै साथीहरू सक्रिय हुनुहुन्छ ।

उहाँहरूले त्यस पाटोलाई अध्ययन गर्नुभएको छ र आवश्यक तयारी गरिरहनुभएको छ । म पनि जनताको माझमा गएर मैले गर्न सकेका र नसकेका कामहरू स्पष्टताका साथ प्रस्तुत गर्दै आएकी छु । मेरो क्षेत्र मकवानपुर-१ को अधिकांश घरमा पुग्दा मतदाताहरूले राम्रो स्वागत गर्नुभएको छ । उहाँहरूको माया, सद्‌भाव र समर्थनले मलाई निकै उत्साहित बनाएको छ ।

अघिल्लो निर्वाचनमा तपाईं गठबन्धनको उम्मेदवार हुँदा पनि हार्नुभयो, अहिले त झन् दलहरू एक्लाएक्लै चुनावमा होमिएका छन्, जित्नुहोला र ?
हिजो गठबन्धन हुँदा हाम्रो मुख्य समस्या के भयो भने हामी अत्यधिक आत्मविश्वासी बन्यौँ। गठबन्धन भएकै कारण भोट स्वतः बढ्छ, भोट क्रस भएर त्यो मत स्वतः हामीतर्फ आइहाल्छ भन्ने सोच बन्यो । त्यसैले आवश्यकजति मेहनत भएन, पार्टीभित्र पनि व्यापक छलफल हुन सकेन । चुनावअघि मतदातासँग भेटघाट, संवाद र अभियानलाई तीव्रता दिनुपर्ने बेला ‘मत छँदै छ, मलाई नै आउँछ’ भन्ने विश्वास हावी भयो। त्यही अत्यधिक भरोसाले अन्ततः समस्या निम्त्यायो ।

गठबन्धन छ, शतप्रतिशत अरूले पनि मत दिइहाल्छन्, जित त निश्चितै छ भन्ने सोच हाम्रो भित्र अलिकति अहंताको रूपमा बसेको रहेछ । म आफैँत्र पनि त्यो भाव थियो । धेरै साथीहरूसँग बसेर छलफल गर्ने, उनीहरूको सुझाव सुन्ने र असन्तुष्टि बुझ्ने काममा पर्याप्त समय दिन सकिनँ भन्ने अहिले अनुभव भइरहेको छ ।

अहिले भेटघाट गर्दा धेरै साथीहरूले गुनासा राख्नुहुन्छ । उहाँहरूको गुनासो मूलतः हामी समयमै सुधारिन सकेनौँ, कमजोरी सच्याउन सकेनौँ भन्नेमा केन्द्रित छ । मैले ती गुनासा स्वीकार गरेकी छु र धेरै ठाउँमा भएका कमजोरीहरूलाई खुलेर स्वीकार पनि गरेकी छु । अब ती कमजोरी सुधार्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छु ।

भनेपछि कांग्रेस एक ढिक्का हुनु नै तपाईंको जितको आधार हो ?
हो, त्योचाहिँ प्रमुख आधार हो । एक ढिक्का कोही पनि साथीहरू रिसाउनुभएको छैन ।

अघिल्लो निर्वाचनको समानुपातिक मत हेर्ने भने कांग्रेस तेस्रो स्थानमा देखिन्छ। एमाले पहिलो र रास्वपा दोस्रो भएका थिए । यसरी हेर्दा तपाईं त अझै पनि रेड जोनमै हुनुहुन्छ नि ?
अब यस्तो समानुपातिकको भोटलाई हामीले क्याल्कुलेसन गर्दाखेरि त्यसको नतिजा आउँदैन । समानुपातिक मत गठबन्धनका कारणले डिस्टर्ब भएको थियो । समानुपातिकमा चाहिँ हामीले मतै हाल्दाखेरि पनि ४/५ हजार मत बिग्रेको अवस्था छ । समानुपातिकमा हाम्रो धेरै ध्यान पनि गएन त्यतिबेला। प्रत्यक्ष निर्वाचनमै ध्यान दिइयो । किनभने हामीले जहाँ जान्छौँ दुईटै पार्टी, तीनटै पार्टी गएर भोट मागिराथ्यौँ ।

मतदाता नै कन्फ्युजनमा थिए । अहिले ४० वडामा पाएको मतदाताहरूको संख्या हेर्दा हामी बहुमतमै छौँ । अहिले पनि त्यो मतलाई हामीले संरक्षण गर्दा निर्वाचित हुन्छौँ । म लामो समय सत्तामा नरहँदा पनि संघ सरकार र प्रदेश सरकारसँग समन्वय गरेर आफ्नो क्षेत्रमाा विकासका लागि योगदान गरेको छु । मागेर भए पनि दिएका ठाउँहरू प्रशस्त छन् ।

यति भनिरहँदा विशेष गरी तपाईंकै पहलमा ल्याइएका योजना र सम्झनलायक विकास निर्माणका काम केही छन् ?
धेरै छ, जस्तो: बकैया बागमतीको गाउँहरूमा खानेपानीको सुविधा पुर्‍याएकी छु । बाटोघाटोको निर्माणका लागि बाटोहरू बनाएर स्लाब ढलानहरू भएको छ । ठाउँ ठाउँमा, गाउँ गाउँमा ढलान गरेर स्लाब ढलानहरू गएको छ । मन्दिर, गुम्बाहरूको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएकी छु । झोलुङ्गे पुलहरू जस्तो कुरामा मैले महत्त्वपूर्ण योगदान पुर्‍याएकी छु । यो विकास यसले गर्‍यो भनेर त्यहाँका जनताहरूले आफैं भन्नुहुन्छ, मैले भन्नै पर्दैन । यस क्षेत्रमा करोड होइन अरबको बजेट भित्र्याउन सफल भएकी छु ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनभन्दा अगाडि तपाईं नेपाली कांग्रेसको सहमहामन्त्रीको जिम्मेवारीमा पनि हुनुहुन्थ्यो । पार्टीमा यति धेरै लोकप्रिय मान्छेलाई मकवानपुरका मतदाताहरूले यो भन्दा अगाडि किन अनुमोदन गरेनन् होला ?
जनताको अपेक्षाचाहिँ गाउँमा आइरहे हुन्थ्यो भन्ने रहेछ । अहिले घरदैलोमा जाँदा पनि निर्वाचन क्षेत्रमा धेरै आइन भन्ने गुनासो सुनिरहेको छु । निर्वाचन क्षेत्रमा भेट्नुपर्थ्यो, हामीसँग कुरा गर्नुपर्थ्यो भन्ने । हुन त मैले नभेटेको होइन, गाउँघरमा जाँदाखेरी आफूले हालेको योजनाहरूमा उद्घाटन गर्ने म नै हो भनेर सम्झाइरहेको छु । यो पटक जिताउनुस् धेरै समय निर्वाचन क्षेत्रमै हुन्छु भने वाचा गरेकी छु ।

त्यही भएर मतदाताकै घरदैलोमा हुनुहुन्छ, प्रत्येक दिन?
हो, प्रत्येक दिन एक मिनेट पनि छाडेको छैन । दिनरात भनेको छैन, यो पालि मेरो मेहनत डबल छ ।

२०४८ यता तपाईं निरन्तर चुनावी प्रतिस्पर्धामा होमिरहनुभएको छ । हरेक निर्वाचनमा टिकट पाउन कसरी सम्भव भइरहेको छ ?
पहिला पहिलाका निर्वाचनहरूमा अहिले जस्तो पैसाको प्रभाव थिएन । म गाउँगाउँ जाँदा साथीहरूले आफैँ पकाएर खुवाउनुहुन्थ्यो, आफैँ व्यवस्थापन गर्नुहुन्थ्यो। चुनाव अभियान समुदायमै आधारित हुन्थ्यो। २०६४ सालपछि भने चुनाव क्रमशः खर्चिलो बन्दै गयो । त्यो अवस्थालाई धान्न सजिलो छैन । सत्य कुरा भन्नुपर्दा म हरेकपटक चुनाव लड्नैपर्छ भन्ने मेरो व्यक्तिगत चाहना धेरै थिएन । तर पार्टी नेतृत्वले सधैँ मलाई पार्टीभित्रको वरिष्ठ महिलाका रूपमा संसदमा जानुपर्ने भन्दै समानुपातिक सूचीमा राख्न खोज्नुभयो ।

त्यसबेला मैले स्पष्ट रूपमा भनेँ- जीवनभर संघर्ष गरेर अघि बढेको एउटा महिलाले सधैँ समानुपातिकमै सीमित हुँदा अरू महिलालाई कसरी हिम्मत दिने ? प्रत्यक्ष निर्वाचनमा पनि महिलाले जित्न सक्छन् भन्ने सन्देश दिन जरुरी छ । त्यसैले अघिल्लो निर्वाचनमा म प्रत्यक्षमै प्रतिस्पर्धा गर्न अघि बढेँ। महिलाले पनि प्रतिस्पर्धाबाटै आफ्नो स्थान बनाउनुपर्छ भन्ने मेरो विश्वास थियो । यो पटक भने व्यक्तिगत रूपमा धेरै चुनाव लड्नैपर्छ, सांसदै हुनुपर्छ भन्ने चाहना खासै थिएन । तर पार्टी नेतृत्वले पुनः जिम्मेवारी लिन आग्रह गरेपछि मैले त्यसलाई जिम्मेवारीकै रूपमा स्वीकार गरेको हुँ ।

यदि यहाँले इच्छा गरेको भए राष्ट्रियसभामा सजिलै निर्वाचित भएर जान सक्नुहुन्थ्यो । सांसदहरूले जनप्रतिनिधिले तपाईंलाई जिताएर पठाउन सक्थे, जित पक्का हुने ठाउँमा किन रहर गर्नुभएन ?
मलाई सांसद मात्रै हुने रहर कहिल्यै भएन । संविधानसभामा चाहिँ मेरो दाबी नै थियो । किनभने संविधानसभामा लामो समयदेखि म महिला आन्दोलनमा पनि लडेको मान्छे, महिला आन्दोलनका सवालमा मैले धेरै काम गरेको छु । महिलाको अधिकारका क्षेत्रमा लामो काम गरेको कारणले मलाई संविधानसभामा चाहिँ समानुपातिक भए पनि जानुपर्छ भनेर म गएको हो । संसद्‌मा समानुपातिकबाट जाने चाहना मलाई कहिले पनि भएन । सांसद भनेको जनताले अनुमोदन गर्नुपर्छ भन्ने लाग्छ ।

मकवानपुर-१ मा यसपटक ‘हेभिवेट’ नेताहरूबिच प्रतिस्पर्धा देखिएको छ । अघिल्लो निर्वाचनमा तपाईंलाई पराजित गर्नुभएको दीपकबहादुर सिंह पुनः उम्मेदवार बन्नुभएको छ । एमालेबाट पुराना नेता रामेश्वर राना पनि चुनावी मैदानमा हुनुहुन्छ । यस्तो अवस्थामा तपाईंका लागि सबैभन्दा चुनौती कुन उम्मेदवारबाट देख्नुहुन्छ ?
मैले सबै उम्मेदवारलाई बराबर प्रतिस्पर्धीका रूपमा लिएकी छु । अघिल्लो पटक जित-हारको आधारमा कसैलाई मात्र मुख्य चुनौती भन्न मिल्दैन । अन्य दलका उम्मेदवारहरू पनि उत्तिकै सक्षम र प्रतिस्पर्धी हुनुहुन्छ। ‘हेभिवेट’ भन्ने शब्दप्रति मेरो फरक दृष्टिकोण छ- राष्ट्रिय स्तरको अनुभव र योगदानका आधारमा म आफैँ पनि कमजोर उम्मेदवार होइन । त्यसैले हामी सबै बराबरी हैसियतमा प्रतिस्पर्धामा छौँ । हाल प्रतिस्पर्धा सौहार्दपूर्ण वातावरणमा भइरहेको छ । अन्ततः मकवानपुरका जनताले निष्पक्ष मूल्यांकन गरी न्यायपूर्ण निर्णय गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।

तपाईं मतदातासँग ‘एकचोटि न्याय गरिदिनुहोस्’ भनेर आग्रह गर्दै आउनुभएको छ । यदि यसपटक निर्वाचित हुनुभयो भने फेरि अर्को कार्यकालका लागि चुनाव लड्ने सोच राख्नुभएको छ कि यो नै अन्तिम प्रतिस्पर्धा हो ?
अब म नेतृत्व क्रमशः नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जाने सोचमा छु । मेरो विश्वास छ- पाँच वर्षको कार्यकाल पाएँ भने परिणाम देखिने गरी काम गर्न सक्छु । मकवानपुरका जनताले भोलि पनि सम्झिरहने, नबिर्सिने काम गरेर देखाउने लक्ष्य छ ।

यही प्रतिबद्धता मैले मतदातासमक्ष खुलेर व्यक्त गरेको छु । पाँच वर्ष इमान्दारीपूर्वक काम गरिसकेपछि जनताले सम्झिरहने योगदान दिन सकेँ भने फेरि अनिवार्य रूपमा निर्वाचन उठ्नै पर्छ भन्ने मेरो सोच छैन ।

महिलाका लागि गर्नुपर्ने विकास र बनाउनुपर्ने ऐन के के रहेछन् ?
अहिले संसद्‌मा पुगेपछि मैले महसुस गरेको छु कि महिलासम्बन्धी धेरै ऐन र संवैधानिक व्यवस्थाहरू पर्याप्त रूपमा लागु भएका छैनन् । संविधानले निश्चित गरेको एकतिहाइ महिला सहभागिता हामी संसद् र प्रदेश तहमा पुर्‍याउन सफल भयौँ, तर स्थानीय तहमा अझै धेरै सुधार गर्न बाँकी छ ।

भोलिका दिनमा महिलाको आर्थिक सशक्तीकरण, स्वास्थ्य र हिंसा निवारणका विषयमा संविधानमै संशोधन गरेर आवश्यक कदम चाल्नुपर्छ। संसद्‌मै मैले महिलाको स्वास्थ्य अधिकारलाई प्राथमिकतामा राखेर बहस गरेकी थिएँ, तर आज पनि महिलाले पर्याप्त स्वास्थ्य सेवा पाएका छैनन् ।

शिक्षा र स्वास्थ्यका जटिल समस्याहरूमा सुधार आवश्यक छ । म यसका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता राख्छु । यसैले मलाई ‘महिलावादी नेता’ भनेर कहिलेकाहीँ मात्र महिला मुद्दा उठाउने आरोप लाग्छ, तर मेरो प्रयास महिलासँग सम्बन्धित वास्तविक सुधारतर्फ केन्द्रित छ ।

अघिल्लो निर्वाचन अन्तर्घातले हार्न परेको गुनासो गर्नुभएको थियो । यसपालि त्यस्तो अवस्था दोहोरिने सम्भावना छ कि छैन ?
अघिल्लो निर्वाचनमा हार्दा मैले पार्टीभित्र आफ्नो गुनासो राखेकी थिएँ । त्यो कुरा साथीहरूले पनि अहिले स्वीकार गर्नुभएको छ । मैले यो कुरा बाहिर मिडियामा कहिल्यै उठाएको छैन । मैले महसुस गरेको कुरा के भने त्यसबेला साथीहरू केही अन्योलमा थिए । अहिले त्यस्तो अवस्था छैन र त्यस समस्याले वर्तमान निर्वाचनमा बाधा पुर्‍याउने छैन ।

प्रतिक्रिया