जेनजी आन्दोलनलाई ‘नियोजित हुण्डरी’ भन्दै ओलीले गरेका ४ प्रश्न

पालिका डायरी
७ फाल्गुन २०८२, १५:०८
जेनजी आन्दोलनलाई ‘नियोजित हुण्डरी’ भन्दै ओलीले गरेका ४ प्रश्न

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई ‘बनाउने र भत्काउने’ शक्तिबीचको जनमतसंग्रहका रूपमा चित्रण गरेका छन् ।

फागुन ७ को अवसर पारेर पार्टीको चुनाबी घोषणापत्र सार्वजनिक गर्दै उनले भदौ २३ र २४ का घटनालाई नियोजित हुण्डरीको संज्ञा दिए, जसले मुलुकको लोकतान्त्रिक प्रणाली र संरचनामाथि नै धावा बोलेको उनको जिकिर छ ।

भदाै २३, २४ मा ओली प्रधानमन्त्री थिए । आन्दोलनका कारण उनको सरकार ढलेको थियो । ”अहिले सिङ्गो समाज प्रश्नैप्रश्नको घेरामा छ, उनले भने, ”जसरी आममतदाताको हामीसहित स्थापित राजनीतिक दल र नेताहरूप्रति प्रश्न छ, त्यसैगरी मेरा पनि केही प्रश्नहरू छन् ।”

यी हुन्, ओलीले सोधेका ४ प्रश्न:

(१) भदौ २३ अघि देश बनिरहेको थियो कि बिग्रँदै थियो, कि देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार गरिँदै थियो ?

(२) भदौ २३ को प्रदर्शनमा कसले घुसपैठ गर्‍यो ? शान्तिपूर्ण कार्यक्रम सकियो भन्दै घर फर्कन लागेका युवालाई निषेधित क्षेत्रतर्फ कसले र किन धकेल्यो ?

(३) भदौ २३ र २४ का घटनाहरू स्वतःस्फूर्त थिए कि योजनाबद्ध ? निजी सम्पत्ति, व्यवसाय र साधारण नागरिकलाई किन लक्ष्य बनाइयो, आफ्नो कर्तव्य पालना गरिरहेका सुरक्षाकर्मीमाथि किन आक्रमण गरियो ?

(४) सरकार, संविधान तथा व्यवस्थाका सन्दर्भमा जेनजी प्रदर्शनकारीका कुनै माग थिएनन् । हुँदै नभएको माग पूरा गरेझैं प्रणालीमाथि नै धावा बोल्नेगरी प्रतिनिधि सभाको विघटन किन गरियो ? यी र यस्तै अरु धेरै प्रश्नहरू छन् ।

यी प्रश्न कसलाई सोधेको हो, उनले खुलाएका छैनन् । भनेका छन्, ‘संविधान, व्यवस्था र हाम्रो सार्वभौमसत्ताको रक्षा गर्न हामीले यिनको जवाफ खोज्नै पर्छ ।’ प्रश्नको जवाफ कसले दिनुपर्ने भनेर केही उल्लेख गरेनन् ।

प्रतिक्रिया