नेकपा एमालेको प्रचार अभियान तीव्र

पालिका डायरी
६ फाल्गुन २०८२, १४:५६
नेकपा एमालेको प्रचार अभियान तीव्र

हेटौँडा / निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले मतदाता भेटघाटलाई तीव्र बनाएको छ। नेकपा एमालेका नेता–कार्यकर्ताहरू मतदाताबीच पुगेर पार्टीप्रति विपक्षीले फैलाएको भ्रम चिर्न र आफ्ना पार्टीका उम्मेदवारको पक्षमा मत सिर्जना गर्न लागिपरेका छन्।

हेटौँडा–४ नं. वडाका विभिन्न टोलहरूमा मतदाताहरूको बाक्लो उपस्थितिमा पार्टीका चुनावी एजेन्डाबारे जनतालाई स्पष्ट पारिँदै छ। यसैक्रममा हेटौँडा–४ नं. वडाका विभिन्न टोलमा मतदाता भेटघाटका क्रममा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले मुलुकमा राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको छ।

केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व एमालेले गरिरहँदा सडक, खानेपानी, विद्युतीकरण, विद्यालय र स्वास्थ्य चौकीको स्तरउन्नतिले तीव्रता पाएको भन्दै कृषि र पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

त्यस्तै, प्रदेश कमिटीका सचिवालय सदस्य रघुनाथ खुलालले आज गाउँ र टोल–टोलसम्म विकासको लहर आउनु र स्थानीय तहमा बजेटको ठूलो हिस्सा विनियोजन हुनु, सामाजिक सुरक्षा मार्फत वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला र दलितलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुजस्ता महत्वपूर्ण कार्यहरू एमालेकै नीतिका कारण सम्भव भएको बताउनुभयो।

उहाँले नेकपा एमाले सरकारले गरेका कामको मूल्याङ्कन गरेर मतदाताहरूले सूर्य चिन्हमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो। एमालेले जनप्रिय कार्य गरेर लोकप्रियता हासिल गरेकाले पार्टीमाथि विभिन्न प्रहार भइरहेको उल्लेख गर्दै जनताले न्यायपूर्ण मतदान गरी फागुन २१ गतेपछि एमालेको बहुमतसहितको सरकार बन्ने दाबी गर्नुभयो।

कार्यक्रममा नेकपा एमाले जिल्ला उपसचिव आरती पाठक, जिल्ला सदस्यहरू शिवहरी दाहाल, मिलन पाठकलगायत विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया