मकवानपुर–१ मा रामेश्वर रानाको घरदैलो अभियान तीव्र
हेटौँडा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तातेको छ। निर्वाचन हुन अब केवल १५ दिन मात्र बाँकी रहँदा उम्मेदवारहरू मतदाताको घरदैलोमा केन्द्रित भएका छन् ।नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर राना पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । बुधबार बिहान उनले हेटौंडा उपमहानगरपालिका–१४ बाट घरदैलो अभियान सुरु गरेका हुन् । घरदैलोका क्रममा रानाले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना तथा पार्टीका एजेन्डा प्रस्तुत गरिरहेका छन् । विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र सुशासनका विषयलाई प्राथमिकतामा राख्दै उनले मतदातासँग समर्थन मागिरहेका छन् ।
२०६४ सालको संविधानसभा निर्वाचनपछि प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट केही समय टाढा रहेका राना करिब १८ वर्षपछि पुनः प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन् । स्वच्छ छवि, संयमित स्वभाव र शालीन राजनीतिक शैलीका कारण उनले स्थानीय राजनीतिमा अलग पहिचान बनाएका छन् । यही कारणले पनि घरदैलोका क्रममा उनले मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताइएको छ । मकवानपुर–१ निर्वाचन क्षेत्रमा हेटौंडा उपमहानगरपालिका का १५ वडा, बकैया गाउँपालिका, बागमती गाउँपालिका तथा मकवानपुरगढी गाउँपालिका का ४ वडा समेटिएका छन् । ४० वडा रहेको यस निर्वाचन क्षेत्रमा १३ राजनीतिक दलका १३ र १० स्वतन्त्र गरी कूल २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । चुनावी प्रतिस्पर्धा कडा हुने आकलन गरिएको छ ।



