एमाले मकवानपुर निर्वाचन परिचालन समितिको बैठक प्रचार प्रभावकारी बनाउने, दुवै क्षेत्र जित्ने निष्कर्ष

पालिका डायरी
३ फाल्गुन २०८२, १७:४७

हेटौंडा  /  नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर निर्वाचन परिचालनको सचिवालय बैठक सम्पन्न भएको छ। बैठकले मकवानपुर जिल्लाका दुवै क्षेत्रमा पार्टीका उम्मेदवारहरूको जित सुनिश्चित रहेको निष्कर्ष निकालेको छ। विगत निर्वाचनमा पार्टीका उम्मेदवारले प्राप्त गरेको मत सुरक्षित गर्न र फरक चुनौतीलाई सामना गर्न सबै नेता तथा कार्यकर्ता चनाखो हुनुपर्ने तथा प्रचार कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने निर्णय गरिएको निर्वाचन परिचालनका प्रचार प्रमुख नवीन सिग्देलले बताउनुभयो।

उम्मेदवारहरू कार्यकर्ता र मतदातासमक्ष पुग्दा अत्यन्त उत्साहजनक वातावरण रहेको र यसअघि सञ्चालित ‘उम्मेदवारसँग अगुवा कार्यकर्ता भेला’ १ सय दुई वडामा सम्पन्न भएको, निर्वाचन सम्पर्क कार्यालय वडा तहसम्म खोलिएको तथा पार्टी र जनसंगठनमा निर्वाचन परिचालन समितिहरू निर्माण भएको निर्वाचन परिचालन समितिका सचिव हिदम लामाले जानकारी दिनुभयो। बैठकमा निर्वाचन परिचालनअन्तर्गत मतदातासँगको जनसंवाद, प्रचार–प्रसार, स्वयंसेवक परिचालन, आर्थिक व्यवस्थापन र घोषणापत्र निर्माणबारे छलफल भएको छ।

बैठकमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा क्षेत्र नं. १ का निर्वाचन परिचालन संयोजक एकालाल श्रेष्ठ, क्षेत्र नं. २ का निर्वाचन परिचालन सहसंयोजक राजाराम स्याङ्तान, केन्द्रीय लेखा आयोगका सदस्य तथा निर्वाचन प्रचार–प्रसार संयोजक नवीन सिग्देल, प्रतिबद्धता पत्र तयारी समिति संयोजक अनन्तप्रसाद पौडेल, आर्थिक व्यवस्थापन समिति संयोजक गोपाल श्रेष्ठलगायतले समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

केन्द्रीय सदस्य तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक रामेश्वर रानाको अध्यक्षतामा बसेको बैठकमा निर्वाचन परिचालन समितिका अनुगमन समिति संयोजक डोरमणि पौडेलले पार्टीप्रति विपक्षीले फैलाएका सबै भ्रमलाई मतदातामाझ चिर्दै राष्ट्रिय रूपमा लोकतन्त्र स्थापना गर्न खेलेको योगदान, संविधान जारी गर्न र मुलुकमा शान्ति स्थापना, विकास र समृद्धिका लागि खेलेको भूमिकाबारे जनतामा प्रभावकारी रूपमा लैजान सबै नेता तथा कार्यकर्ता एकजुट भएर लाग्न निर्देशनात्मक मन्तव्य राख्नुभयो।

प्रतिक्रिया