हेटौंडा / मकवानपुर जिल्ला क्षेत्र नम्बर २ का नेकपा एमाले उम्मेदवार महेश बर्तौला ले राजनीतिलाई नयाँ दृष्टिकोणबाट व्याख्या गरेका छन्। उनले राजनीति समाज रूपान्तरणको आधार न्याय, प्रेम, शान्ति र संवाद भएको बताउँदै राजनीति कुनै व्यक्ति वा समूहको आवेग, आक्रोश, कुण्ठा र उत्तेजनाबाट निर्देशित हुन नहुने बताए। उनका अनुसार आवेगबाट होइन, उत्तरदायित्वबाट निर्देशित राजनीतिले मात्र समाज परिवर्तन गर्न सक्छ।
मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार बर्तौलाले आफ्नो चुनावी अभियानका क्रममा यस्तो बताएका हुन्। उनले स्पष्ट शब्दमा भने, “राजनीति भनेको क्षणिक भावनाको प्रतिक्रिया होइन। यदि राजनीति आवेग र आक्रोशबाट चलाइयो भने त्यसले समाजमा विभाजन, असहिष्णुता र द्वन्द्व बढाउँछ।”
उनले नेतृत्वले व्यक्तिगत भावनाभन्दा माथि उठेर समग्र समाजको हितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए। राजनीतिलाई न्यायको झन्डा, प्रेमको झन्डा, शान्तिको झन्डा र सद्भावको झन्डाका रूपमा अगाडि बढाउनुपर्ने उनको धारणा छ। राजनीतिक सही संस्कार व्यवहारमा उतार्न सके मात्र लोकतन्त्र बलियो हुने उनले बताए।
उनका अनुसार समाजमा देखिएका असमानता, विभेद र अविश्वास अन्त्य गर्न संवादमुखी राजनीति अपरिहार्य छ। बर्तौलाले राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक भए पनि अन्ततः लक्ष्य समाजको हित नै हुनुपर्ने धारणा राखे।
उनको यो अभिव्यक्तिले विशेषगरी युवापुस्तालाई जिम्मेवार र सकारात्मक राजनीतिमा सहभागिता जनाउन प्रेरित गरेको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ। मकवानपुर क्षेत्र नं. २ मा आगामी राजनीतिक समीकरणका सन्दर्भमा बर्तौलाको यो भनाइलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
आफ्नो चुनावी अभियानमा महेश बर्तौलाले प्रस्तुत गरेको धारणा अनुसार राजनीति केवल सत्ता प्राप्तिको साधन नभई समाजमा न्याय, प्रेम, शान्ति र सद्भाव स्थापना गर्ने माध्यम हो। आवेग र आक्रोशलाई नियन्त्रण गर्दै संवाद र समन्वयको मार्ग अवलम्बन गर्न सके मात्र राजनीतिक संस्कार सुदृढ हुने उनको भनाइ छ।



