भूमि अधिकार मञ्च मनहरीद्वारा उम्मेदवारलाई लालपुर्जा नपाएको भन्दै बुझाए ध्यानाकर्षण पत्र

पालिका डायरी
२७ माघ २०८२, १७:२१

हेटौंडा / मनहरी गाउँपालिका भूमि अधिकार मञ्चले नेकपाका मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार लवशेर बिष्टलाई निकुञ्ज क्षेत्र  भित्र पर्ने, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधान नभएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पुस्तौंदेखि जोतभोग गर्दै आएको जग्गा निकुञ्ज क्षेत्राधिकार भित्र पर्ने भन्दै अहिलेसम्म नापी नगरेर समस्या खडा गर्दै हालसम्मका सरकारले गरिबहरूमाथि थिचोमिचो गर्दै आएकोले अब बन्ने सरकारले मनहरीवासीको समस्या समाधान गर्न पहल गरून् भनेर पत्र बुझाएको मनहरी गाउँपालिका मञ्चका अध्यक्ष सूर्यबहादुर सापकोटाले बताए ।

मञ्चले बुझाएको भूमि सम्बन्धी ध्यानाकर्षण पत्रलाई आत्मसात गर्दै उम्मेदवार बिष्टले आफूले जितेर गएपछि मनहरीको भूमि सम्बन्धी समस्यालाई पहिलो मुद्दाको रूपमा उठान गर्ने बताए । उत्तरी मकवानपुर थाहा नगरपालिकाका निवर्तमान मेयर बिष्टले आफूले काम गरेर सबैको मन जितेको बताए । बिष्टले आफू मेयर हुँदा जनताको काम गरेर आएकोले मत किन्ने, पैसाको बलमा चुनाव जित्ने कुरामा विश्वास नगर्ने बताए ।

मनहरी गाउँपालिकाको ज्यामिरेमा भएको ९ नम्बर वडा कमिटीको आयोजनामा भएको कार्यक्रममा मनहरी गाउँपालिका मञ्चका अध्यक्ष सूर्यबहादुर सापकोटा र जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष देवकृष्ण थोकरले उम्मेदवार बिष्टलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

कार्यक्रम नेकपा मनहरी गाउँपालिका ९ नम्बर वडाध्यक्ष सोलाल गोलेको सभाध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया