कृष्ण माध्यमिक विद्यालयमा पूर्वप्रधानाध्यापक तुलसी थापाको स्मृतिमा ३ लाखको अक्षयकोष स्थापना

पालिका डायरी
२७ माघ २०८२, ०७:३३

हेटौँडा /  मकवानपुरको भीमफेदी गाउँपालिका–२ स्थित कृष्ण माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक स्व. तुलसी थापाको स्मृतिमा विद्यालयमा ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ।

स्व. थापाको परिवारको सहयोगमा स्थापना गरिएको उक्त अक्षयकोषको रकम सोमबार उहाँकी बहिनी बेली थापाले वडा नम्बर २ का वडा अदालत सदस्यसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कासीराम बज्युलाई हस्तान्तरण गर्नुभएको हो। उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम विद्यालयका विद्यार्थीलाई शैक्षिक प्रोत्साहनका लागि प्रयोग गरिने अध्यक्ष बज्युले जानकारी दिनुभयो।

विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण पौडेलका अनुसार अक्षयकोषबाट प्राप्त आम्दानी एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गर्न उपयोग गरिनेछ। यस वर्ष कृष्ण माध्यमिक विद्यालयबाट ३२ जना विद्यार्थीले एसईई परीक्षा दिँदैछन्।

एसईई परीक्षालाई लक्षित गर्दै विद्यालयले विद्यार्थीलाई विद्यालयमै खाने व्यवस्थासहित विशेष पठनपाठन गराइरहेको छ। साथै, मंसिर महिनादेखि आवासीय सुविधासहित पठनपाठन सञ्चालन भइरहेको र त्यसका लागि वडाबाट ४ लाख रुपैयाँ बजेट उपलब्ध गराइएको सहायक प्रधानाध्यापक पौडेलले बताउनुभयो।

कक्षा १० सम्म पठनपाठन हुने कृष्ण माध्यमिक विद्यालयमा हाल करिब ४ सय ५० जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थी प्रोत्साहनमा अक्षयकोषले महत्वपूर्ण योगदान पुग्ने विश्वास विद्यालय परिवारले लिएको छ।

प्रतिक्रिया