हेटौंडा / नेकपा एमाले जिल्ला क्षेत्र नम्बर १ अन्तर्गत बकैया गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा चुनाव प्रचार–प्रसारका लागि सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
बकैया गाउँपालिका वडा नम्बर ७ स्थित हातीचरण सामुदायिक भवनमा आयोजित कार्यक्रममा अगुवा कार्यकर्ता भेला तथा चुनाव प्रचार–प्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको थियो। त्यसैगरी, बकैया गाउँपालिका वडा नम्बर २ अन्तर्गत धियालको दोभानमा पनि चुनाव प्रचार–प्रसार सम्पर्क कार्यालय उद्घाटनसँगै अगुवा कार्यकर्ता भेला सम्पन्न गरिएको हो।
उक्त अवसरमा नेपाली कम्युनिस्ट पार्टी परित्याग गरी आधा दर्जन नेता तथा कार्यकर्ताले नेकपा एमालेमा प्रवेश गरेका छन्। एमालेमा प्रवेश गर्नेहरूमा आयते सिंह मुक्तान, सन्तबहादुर स्याङ्तान लगायतका नेताहरू रहेका छन्।
नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर राना र नेकपा एमालेका नेता तथा पूर्व सांसद कृष्णप्रसाद दाहालले खादा र माला लगाएर स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै वक्ताहरूले नेकपा एमाले जनताको विश्वासको पार्टी भएको उल्लेख गर्दै आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित गर्न सबै नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए। साथै, बकैया क्षेत्रलाई विकास र समृद्धिको दिशामा अघि बढाउन एमालेको स्पष्ट नीति र नेतृत्व आवश्यक रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा नेकपा एमालेका जिल्ला तथा स्थानीय तहका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले उत्साहपूर्ण सहभागितामार्फत आगामी निर्वाचनका लागि पार्टी संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।



