भूमिहीन समस्या समाधान गर्न हिजोजस्तै पहल लिन्छु: महेश बर्तौला
हेटौंडा / मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार महेश बर्तौलाले जिल्लाका भूमिहीनहरूको समस्या समाधानका लागि आफूले विगतमा जस्तै सशक्त पहल लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, सिमलटारमा राष्ट्रिय भूमि अधिकार मञ्च, मकवानपुरद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै बर्तौलाले यस्तो बताउनुभएको हो।
निवर्तमान सांसद बर्तौलाको सक्रियताबारे जानकारी दिँदै नेकपा एमालेका निर्वाचन फोकल पर्सन आशिष अस्लामीले स्थानीय मिडियालाई बताएअनुसार, बर्तौलाले मुलुकभरका करिब १२ लाख भूमिहीनहरूको समस्या समाधानका लागि संसद्मा निरन्तर पैरवी गर्दै आउनुभएको र आगामी दिनमा पनि यसलाई प्राथमिकतामा राख्ने स्पष्ट पार्नुभएको छ। “अहिले हाम्रै पहलमा भूमि आयोग निर्माण भएर काम अघि बढिरहेको छ, नीतिगत समस्या आए संसद्ले समाधान गर्नेछ,” अस्लामीले सांसद बर्तौलाको भनाइ उद्धृत गर्दै जानकारी दिनुभयो।
सोही कार्यक्रममा भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष बलराम बलले सिमलटार र आसपासका बस्तीहरू निकुञ्जको बफर जोनका कारण प्रताडित रहेको उल्लेख गर्नुभयो। अध्यक्ष बलका अनुसार बर्तौलाकै पहलमा निकुञ्जसम्बन्धी समस्या समाधान गरी धनीपूर्जा वितरण गर्न सरकारमार्फत अध्यादेश ल्याइए पनि राजनीतिक जालझेलका कारण सफल हुन नदिइएको बताउनुभयो।
“वडा कार्यालयले ५५० भन्दा बढी भूमिहीनको निवेदन नगरपालिकामा पठाइसकेको छ। नगरपालिकाबाट निर्णय भएर आयोगमा फाइल आए म कसम खाएर भन्छु— भूमिहीनलाई लालपूर्जा वितरण गरेरै छाड्छु,” अध्यक्ष बलले भन्नुभयो।
मनहरी, भीमफेदी र हेटौंडाका सिमलटारलगायतका क्षेत्रमा रहेका भूमिहीनहरूको समस्या समाधान गर्न राज्यका निकायहरूले समयमै काम गर्नुपर्नेमा सो अवसरमा जोड दिइएको थियो।
सूर्य चिन्हका उम्मेदवार बर्तौलाले आजै हेटौंडा–११ को नवलपुरलगायत क्षेत्र र वडा नम्बर ३ को बसामाडीमा निर्वाचन सम्पर्क कार्यालय स्थापना कार्यक्रममा सहभागिता जनाउनुभएको छ। हेटौंडा–३, बसामाडीमा ९३ वर्षीया आमा गोरीमाया लामाको हातबाट कार्यालय उद्घाटन गरिएको थियो।



