राप्रपाका थोकरलाई सुकौरामा स्थानीयले गरे स्वागत

पालिका डायरी
२१ माघ २०८२, १४:०८
राप्रपाका थोकरलाई सुकौरामा स्थानीयले गरे न्यानो स्वागत

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर थोकरलाई स्थानीय मतदाताले स्वागत गरेका छन्।

कुनै समय राप्रपाको बलियो आधार इलाकाका रूपमा चिनिँदै आएको सुकौरामा थोकरले चुनावी अभियान अन्तर्गत घरदैलो तथा प्रत्यक्ष भेटघाट कार्यक्रम सञ्चालन गर्दै मतदातासँग भलाकुसारी गरे।

२१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उनले दैनिकजसो गाउँ–टोल र बस्तीमा पुगेर मतदाताको घरआँगनमै समय बिताइरहेका छन्, जहाँ उनले जनताका गुनासा, अपेक्षा र सुझावहरू ध्यानपूर्वक सुन्दै आएका छन्।

चुनावी अभियानको क्रममा सोमबार उनले थाहा नगरपालिका वडा नम्बर ७ देउराली भञ्ज्याङ, थाहा नगरपालिका वडा नम्बर २ पालुङ, थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङ तथा नौखण्डे क्षेत्रका विभिन्न स्थानमा पुगेर स्थानीय मतदातासँग भेटघाट तथा छलफल गरेका थिए।

यसअघि उनी हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९, मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र मनहरी गाउँपालिका वडा नम्बर ९ का विभिन्न स्थानमा पनि घरदैलो अभियानमा सहभागी भइसकेका छन्। यी सबै स्थानमा उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो राजनीतिक दृष्टिकोण, भावी योजना र निर्वाचनपछि गर्ने कामबारे धारणा राखेका छन्।

उम्मेदवार थोकरका निर्वाचन सचिवालयका अनुसार उनले मतदातामाझ राष्ट्र, राष्ट्रियता र राजसंस्थाको संरक्षणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मत दिन आग्रह गरिरहेका छन्। राष्ट्रियताको जगेर्ना र संरक्षणका लागि राप्रपालाई विजयी गराउन आवश्यक रहेकोमा जोड दिँदै उनले मतदाताको घरआँगनमै पुगेर समर्थनको अपिल गरिरहेका छन्।

घरदैलो कार्यक्रमलाई उनले केवल प्रचारको माध्यम मात्र नभई जनताको आवाज प्रत्यक्ष रूपमा बुझ्ने अवसरका रूपमा लिएको सचिवालयले जनाएको छ। घरदैलोका क्रममा उनले मतदातासँग संवाद गर्दै आफ्नो राजनीतिक धारणा, भावी योजना र प्रतिबद्धता प्रस्तुत गरिरहेका छन्। जनताको विश्वास जित्ने र आफू पनि जनताका लागि भरोसायोग्य प्रतिनिधि बन्ने उद्देश्यका साथ उनले यस अभियानलाई आफ्नो चुनावी रणनीतिको मुख्य आधार बनाएका छन्।

स्थानीय मतदाताले पनि आफ्ना समस्या र अपेक्षा प्रत्यक्ष रूपमा उम्मेदवारसमक्ष राख्न पाउँदा सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले जनताको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउँदै समग्र विकासको दिशामा मुलुकलाई अघि बढाउने उद्देश्यले उम्मेदवारी दिएको बताउँदै आएका छन्।

प्रतिक्रिया