मकवानपुरमा ४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै
हेटौंडा / महिलाको पाठेघर क्यान्सर विरुद्धको एचपिभी खोप अभियान २५ गतेदेखि सञ्चालन हुने भएको छ। विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रालाई लगाइने एचपिभी खोपको विद्यालय केन्द्रीत अभियान २५ गतेबाट २९ गतेसम्म सञ्चालन हुने जनस्वास्थ्य कार्यालय, मकवानपुरले जनाएको छ।
सोमबार एचपिभी खोप सम्बन्धि संचारकर्मीसँग वहस, पैरवी तथा अन्तरक्रिया कार्यक्रमकोे आयोजना गर्दै यो पटक मकवानपुरको १० वटै स्थानीय तहमा रहेका ४ हजार ४०३ छात्रालाई खोप लगाइने लक्ष्य लिइएको बताइएको छ। विद्यालय केन्द्रीत बाहेक संस्थागत, बाह्य स्थानबाट पनि फागुन २२ गतेसम्म अभियानलाई निरन्तरता दिइने जनस्वास्थ्य कार्यालय, मकवानपुरका निमित्त कार्यालय प्रमुख लक्ष्मण घिमिरेले बताए।
उनका अनुसार सबैभन्दा धेरै हेटौंडा
उपमहानगरपालिकाका छात्रालाई खोप लगाइने लक्ष्य लिइएको छ। १९ वटा वडा रहेको यहाँ १ हजार ९५२ जना छात्रालाई खोप लगाइने लक्ष्य लिइएको छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकामा १०३ छात्रालाई खोप लगाइने घिमिरेले जानकारी दिए।
यी बाहेक भीमफेदी गाउँपालिकामा १६२, बागमती गाउँपालिकामा २७८, बकैया गाउँपालिकामा ३७७, कैलाश गाउँपालिकामा २५५, मनहरी गाउँपालिकामा ४५७, मकवानपुरगढी गाउँपालिकामा १९३, राक्सिराङ गाउँपालिकामा १९२, थाहा नगरपालिकामा ४१३ र बकैया गाउँपालिका ३९८ छात्रालाई एचपिभी खोप लगाइने लक्ष्य लिइएको छ।
कक्षा ६ मा अध्ययन गर्ने छात्राहरु र विद्यालय नजाने १० वर्ष उमेरका किशारीहरु तथा गतवर्ष सञ्चालित खोप अभियानमा छुटेका ११ देखि १४ वर्ष उमेर समूहका छात्राहरुमा खोप लगाइने छ। आर्थिक वर्ष २०७६÷०७७ बाट सुरु भएको खोप अभियान निरन्तर रुपमा सञ्चालन हुँदै आएको छ। पाठेघरको मुखको क्यान्सर निवारण गर्ने विश्वव्यापी रणनीतिलाई अवलम्बन गर्दै राष्ट्रिय खोप सल्लाहकार समितिले राष्ट्रिय खोप तालिकामा एचपिभी खोप समावेश गर्न सिफारिस गरेको र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त सिफारिस कार्यान्वयन गर्न निर्णय गरेको थियो।
यो खोपबारे कुनै भ्रम नपाली निर्धक्क भएर खोप लगाउन जनस्वास्थ्य कार्यालय मकवानपुरले अनुरोध गरेको छ। महिनावारीको समयमा समेत खोप लगाउन मिल्ने बताउँदै निमित्त कार्यालय प्रमुख घिमिरेले भने, ‘क्यान्सरका कारण मृत्युहुने महिलामध्ये पाठेघरको क्यान्सर प्रमुख कारण हो। प्रायः बिवाहित महिलामा हुने पाठेघर क्यान्सर हुन नदिन किशोर अवस्थामै खोप लगाउन आवश्यक हुन्छ । एकपटप लगाएपछि जीवनभरका लागि पाठेघरको क्यान्सर नहुने अध्ययनले देखाएको छ।’
अघिल्लो आर्थिक वर्षमा २० हजार २९८ छात्रालाई एचपिभी खोप लगाइएको कार्यालयले जनाएको छ। यो खोपको बारेमा केही जिज्ञासा भए पैसा नलाग्ने नम्बर १११५ मा फोन गरेर थप बुझ्न सकिने बताइएको छ। पछिल्लो समय पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाहरु पीडित बनेको अवस्थामा यसको न्यूनीकरणका लागि राष्ट्रिय स्तरमै खोप अभियान सुरु गरिएको हो।
मकवानपुरका अघिल्लो आर्थिक वर्षमा १ हजार ९४ जनाको पाठेघरको जाँच गर्दा ९४ जनामा क्यान्सरको जोखिम देखिएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। समयमै आफ्ना छोरीहरुलाई खोप लगाए भविष्यमा हुने जोखिम अन्त्य हुने चिकित्सकहरुको सल्लाह दिएका छन्।
के हो एचपीभी ?
ह्यूमन प्यापिलोमाभाइरस (एचपीभी) सानो र सामान्य डीएनए भाइरस हो । यसमा बाहिरी खोल हुँदैन । यसले प्रायः छाला र म्यूकोसल कोशिका अर्थात् शरीरका भित्री अंगको सतहमा हुने झिल्लीमा रहेको कोशिकामा सङ्क्रमण गर्छ।
यो भाइरसका पनि १ सय भन्दा बढी प्रकार छन्। सामान्यतया यसको सङ्क्रमणले कुनै लक्षण देखाउँदैन। कुनै कुनैले भने शरीरमा ’मुसा’ उत्पन्न गराउँछ । त्यस्तो मुसा हात, खुट्टा, जननेन्द्रिय वा मुखको भित्री भागमा देखा पर्न सक्छन्। अधिकांश मानिसहरूले भने यसको सङ्क्रमण भएको चाल पाउँदैनन् र उनीहरूको शरीरको प्रतिरोध प्रणालीले कुनै उपचारबिना नै भाइरस सखाप पारिदिन्छ। तर उच्च जोखिमयुक्त एचपीभीले भने तन्तुहरूमा अस्वाभाविक वृद्धि गराइदिन सक्छ जसले क्यान्सर समेत हुन सक्छ।


