इन्द्रसरोवरका वस्ती–वस्तीमा बर्तौला, मतदाता एमालेप्रति सकारात्मक
हेटौंडा / नेकपा (एमाले) का युवा नेता तथा मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश कुमार बर्तौला यतिबेला इन्द्रसरोवर गाउँपालिकाका विभिन्न वस्तीहरूमा मतदाताको भावना बुझ्न व्यस्त छन् । चुनावी अभियानका क्रममा इन्द्रसरोवर पुगेका बर्तौलाप्रति मतदाताहरूले सकारात्मक संकेत देखाएका छन् ।
भेटघाटका क्रममा बर्तौलाले आफ्नो अघिल्लो कार्यकालमा नीति निर्माण र क्षेत्रको विकासमा खेलेको भूमिका स्पष्ट पार्दै अधुरा काम पूरा गर्न आफूलाई पुनः अनुमोदन गर्न आग्रह गरे । “मैले अघिल्लो कार्यकालमा जनताको पक्षमा आवाज उठाएको छु,” बर्तौलाले भने, “बाँकी रहेका योजनाहरूलाई पूर्णता दिन यसपटक पनि यहाँहरूको साथको अपेक्षा गरेको छु ।”
स्थानीय मतदाताहरूले बर्तौलालाई सधैं सुख-दुःखमा साथ दिने नेताका रूपमा चित्रण गरेका छन् । स्थानीय अगुवा धनवीर स्याङतानका अनुसार कतिपय नेता चुनावका बेला मात्र गाउँ छिर्ने भए पनि बर्तौला निरन्तर जनताको बीचमा रहने र संसदमा स्थानीय एजेन्डा उठाउने नेता हुन् । त्यस्तै, स्थानीय २९ वर्षीय मनोज तामाङले सडक पूर्वाधारको समस्या राख्दै ‘नयाँ गाउँ सडक’ का लागि बजेट व्यवस्थापन गर्न माग गरे । ६७ वर्षीय सन्तमान लामाले आफूहरू पुरानो र निष्ठावान मतदाता भएकाले यसपटक पनि ‘सूर्य’ चिन्हमै मतदान गर्ने बताए ।
नयाँ गाउँका जितबहादुर घिसिङले गाउँबाट विद्यालय टाढा हुँदा बालबालिका शिक्षाबाट वञ्चित हुनुपरेको गुनासो गर्दै गाउँमै विद्यालय बनाउन ध्यानाकर्षण गराए । यस विषयमा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले गाउँपालिकाका तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैगरी, इन्द्रसरोवर-५ की नमिता विश्वकर्माले महिलाहरूको आर्थिक अवस्था सुधार्न ‘उद्यमशीलता कार्यक्रम’ सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
समानुपातिक तर्फका उम्मेदवार मेम्बर लो तामाङले चौतर्फी घेराबन्दीका बीच पनि एमाले सुदृढ रहेको र कार्यकर्ता पङ्क्ति सचेत रहेको दाबी गरे । आज आइतवार बर्तौलाले इन्द्रसरोवरको वडा नम्बर १ र २को मार्खु, सिम्लाङ, ठूलो नयाँगाउँ र सानो नयाँगाउँ तथा इन्द्रसरोवर-४ र ५: फाखेल पौवा र चखेलमा शुभचिन्तक भेटघाट तथा छलफल गरे ।
निर्वाचन फोकल पर्सन आशिष अस्लामीका अनुसार ती क्षेत्रहरूमा भएको अन्तरक्रियामा मतदाताहरूले पुनः एमाले रोज्ने स्पष्ट संकेत दिएका छन् । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य नारायण रिजाल, जिल्ला सदस्य बुद्धिराम डिम्डुङ, युवा संघका केन्द्रीय सदस्य राजन लामा, गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, पार्टी गाउँपालिका अध्यक्ष चिरञ्जीवी पौडेल र सचिव राजु बस्नेत लगायतको उपस्थिति रहेको थियो ।



