हेटौंडा / नेपाली कम्युनिस्ट पार्टी मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार लवशेर विष्टले आम जनताको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का कार्यकर्तासँग आज भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
विष्टले जेन–जिको भावना नेपाली कम्युनिस्ट पार्टीले मात्र बोकेको उल्लेख गर्दै देशको समृद्धिको नेतृत्व पनि नेकपाले गर्ने बताए। उनले जनताको भरोसा र सहभागिताबाट मात्रै मुलुकको वास्तविक रूपान्तरण सम्भव हुने धारणा राखे।
कार्यक्रममा सहभागी समानुपातिक उम्मेदवार मंगलसिं प्रजाले भने, “व्यवस्था पनि हामीले बदल्यौँ, अवस्था पनि हामीले बदल्छौँ।” त्यसका लागि नेकपालाई बहुमत दिन उनले आग्रह गरे।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री कुमारी मोक्तानले देशव्यापी पाँचकुने ताराको माहोल बढेको र मकवानपुरमा पहिलो पार्टी बन्ने दाबी गरे।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य किशोर बर्तौलाले जसको नीति उसकै नेतृत्व हुनु आवश्यक रहेको बताए।
११ नम्बर पार्टी संयोजक रामकृष्ण बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेताहरू ललित घलान, वीरबहादुर घलान ‘ज्वाला’, विवेक राई, बालकुमार मल्ल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेकपाका प्रदेश सचिवालय सदस्य सागर बानियाँको संयोजकत्वमा १०१ सदस्यीय ११ नम्बर वडा स्तरीय प्रचारप्रसार समिति गठन गरिएको छ। समितिका सहसंयोजकहरूमा रामकृष्ण बस्नेत, शुक्र लामा, मधुकुमार थापा, देवनारायण चौलागाई रहेका छन्।


