काठमाडौँ-५ : अघिल्लो चोट मेट्ने दाउमा ईश्वर, साख जोगाउने दबावमा प्रदीप, जितको खोजीमा कमल
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ-५ मा त्रिपक्षीय भीडन्त हुने भएको छ । यस क्षेत्रका लागि २५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमध्ये मुख्य प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल, नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल र राप्रपाका उम्मेदवार कमल थापालाई लिन सकिन्छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार कल्पना शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार सस्मित पोखरेल पनि जित्ने सम्भावना भएका उम्मेदवार हुन् । तर, यसअघिको चुनावी नतिजा हेर्ने हो भने काठमाडौँ-५ एमाले र कांग्रेसले जित्दै आएको क्षेत्र हो । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमाले नेता ईश्वर पोखरेल विजयी भएका थिए । कांग्रेसका प्रभावशाली नेता प्रकाशशरण महतलाई पराजित गरेका पोखरेल २०७९ को निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रदिप पौडेलसँग पराजित भए ।
२०७४ मा महतलाई १० हजार मतान्तरले पछि पारेका पोखरेलले २३ हजार २९ मत प्राप्त गरेका थिए । महतको पक्षमा १३ हजार ६९ मत प्राप्त भएको थियो । २०७९ को निर्वाचनमा महत काठमाडौँ-५ को उम्मेदवार बनेनन् । कांग्रेसका पदीप पौडेल उम्मेदवार बने । अघिल्लो निर्वाचनमा कांग्रेसकै उम्मेदवार महतलाई १० हजार मतान्तरले पराजित गरेका पोखरेल २०७९ को निर्वाचनमा ५ हजार मतान्तरले पराजित हुन पुगे । पौडेलले १५ हजार २३७ मत प्राप्त गर्दा पोखरेलले १० हजार १७२ मत मात्रै प्राप्त गरे । २०७४ को निर्वाचनमा २३ हजार मत ल्याएका पोखरेलेल गत निर्वाचनमा १० हजारमै सिमित रहन पुगे ।
आउँदो फागुन २१ गतेको निर्वाचनमा पुनः पौडेल र पोखरेल चुनावी भीडन्तमा छन् । गत निर्वाचनको हारको चोट जीतमा बदल्ने रणनीतिसहित पोखरेल मैदान उत्रँदा पौडेल भने विगतको विरासत कायम रहनेमा ढुक्क देखिन्छन् । यसअघि २०६४ र २०७० को संविधानसभा निर्वाचनमा उनी कांग्रेसका नरहरि आचार्यसँग पराजित भएका थिए । काठमाडौँ-५ मा पोखरेलको पाँचौ पटकको उम्मेदवारी हो ।
यता, गृहजिल्ला मकवानपुरमा ५ वटा निर्वाचनमा हार भोगेका कमल थापा छैठौँ पटकको प्रयासमा जीत निकाल्ने आशमा काठमाडौँ-५ को उम्मेदवार बनेका छन् । राप्रपाको राम्रो प्रभाव रहेको यहाँबाट उम्मेदवार बन्दा जित्ने सम्भावनाका साथ थापाले गृहजिल्ला छोडेका हुन् । चुनाव जित्नका लागि थापाले विभिन्न अस्त्र प्रयोग गर्ने गरेका छन् ।
गत निर्वाचनमा उनी नेकपा एमालेको उम्मेदवार बनेर मकवानपुर-१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । तर राप्रपाका उम्मेदवार दीपक बहादुर सिंह विजयी हुँदा उनको यो अस्त्रले पनि काम गरेको थिएन । पाँचौ पटकको हारलाई जीतमा परिणत गर्ने इच्छाका साथ काठमाडौँ-५ उक्लिएका थापालाई कांग्रेसका पौडेल र एमालेका पोखरेल चुनौतीको रुपमा खडा छन् । तीनदलका हेभीवेट नेताहरु एउटै क्षेत्रको उम्मेदवार बन्दा काठमाडौँ-५ को निर्वाचन रोचक बन्ने देखिन्छ ।


