उम्मेदवार राना र बकैया गाउँपालिकाका अगुवा कार्यकर्ताबीच भेटघाट

पालिका डायरी
१३ माघ २०८२, २१:४०

हेटौंडा / मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार रामेश्वर राना र नेकपा एमाले बकैया गाउँपालिकाका अगुवा कार्यकर्ताहरूबीच भेटघाट तथा राजनीतिक छलफल कार्यक्रम सम्पन्न भएको छ।

आज बकैयामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले मकवानपुर जिल्ला कमिटीका उपाध्यक्ष हिदम लामाको विशेष सहभागिता रहेको थियो। कार्यक्रममा पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, जनआधार विस्तार तथा आगामी निर्वाचनलाई लक्षित रणनीतिबारे गहन छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै उम्मेदवार रामेश्वर रानाले नेकपा एमाले नै मुलुकको राष्ट्रियता, स्थायित्व र समृद्धिको भरोसायोग्य शक्ति भएको उल्लेख गरे। उनले बकैया गाउँपालिकासहित मकवानपुर क्षेत्र नं. १ को समग्र विकासका लागि एमाले नेतृत्व अपरिहार्य रहेको बताउँदै जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी जिल्ला कमिटीका उपाध्यक्ष हिदम लामाले पार्टी संगठनलाई अझ अनुशासित, एकताबद्ध र जनमुखी बनाउन आवश्यक रहेकोमा जोड दिए। उनले कार्यकर्ताहरूलाई जनताको घरदैलोमा पुगेर एमालेको नीति, कार्यक्रम र उपलब्धि स्पष्ट रूपमा राख्न निर्देशन दिए। आगामी निर्वाचनमा एमालेको विजय सुनिश्चित गर्न सबै तहका कार्यकर्ता सक्रिय रूपमा परिचालित हुनुपर्ने उनको भनाइ थियो।

भेटघाट कार्यक्रममा बकैया गाउँपालिकाका विभिन्न वडाका अगुवा कार्यकर्ता, स्थानीय नेता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी कार्यकर्ताहरूले पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको बताउँदै एमालेको पक्षमा जनमत सिर्जना गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया