लागुपदार्थ सेवनमा युवाको संख्या बढ्दोः अध्यक्ष मुक्तान
कैलाश / मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले लागुपदार्थ सेवनमा युवावर्गको संख्या बढ्दो रुपमा रहेको बताएका छन् ।
सोमबार कैलाश ९ मा रहेको कालिका माविमा आयोजित लागुऔषध दुव्र्यसन विरुद्धको सचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै प्रयोगकर्तामा युवावर्गको संख्या बढिरहेको बताए । गाँजाभन्दा पनि अफिमबाट उत्पादित ब्राउन सुगर प्रयोगमा युवाको संख्या वृद्धि भइरहेको उनले बताए । लागुपदार्थ प्रयोग न्यूनिकरणमा गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ, कच्चापदार्थ उत्पादित क्षेत्रको रुपमा गाउँपालिका चिनिरहेको अवस्थामा सयौं नागरिक भरियाको रुपमा समातिरहेका छन्, त्यसलाई पनि न्यूनिकरण गर्न बालबालिका, विद्यार्थीहरु लक्षित कार्यक्रम गरि अभिभावकलाई सचेत गराउन लागिएका हौैैँ, अध्यक्ष मुक्तानले भने ।
लागुऔषधले स्वास्थ्यमा असर पर्नुका साथै कानुनी उपचारले जीवनशैलीमा समेत असर पर्नेछ, चुरोटखैनीबाट सुरु भएको कुलत गाजाँहुँदै ब्राउनसुगर सम्म पुग्ने उनले बताए । पछिल्लो समय किशोरमात्र नभई किशोरीहरु पनि प्रयोगकर्ताको रुपमा बढ्दै गइरहेको अवस्था रहेको छ । गाँजा र अफिमको विकल्पमा तरकारी तथा अन्य बाली लगाउनुपर्नेमा उनले जोड दिए । सकरात्मक सोच गरौँ कुलतमा नफसौ भन्ने सन्देश दिनका लागि गाउँपालिकाले यस कार्यक्रम आयोजना गरेको उनले बताए ।
गाउँपालिकाको आर्थिक सहयोग तथा मकवानपुर रिकभरिङ समूहको आयोजनामा सचेतनामूलक कार्यक्रम भएको हो । समूहका प्रवन्धक निर्देशक संदीप शाक्यको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यालयका प्रअ रामप्रसाद कालाखेती, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । समूहले कैलाशका ६ वटा माध्यामिक विद्यालयमा उक्त सचेतना कार्यक्रम गर्नेछन् । सोमबार नै कैलाश १० मा रहेको रत्न ज्योति माध्यामिक विद्यालयमा समेत कार्यक्रम सञ्चालन गरिएको थियो ।



