१०४ वर्षीया कालिमायाको हातबाट आर्शिवाद लिएर बर्तौलाको चुनावी अभियान सुरु
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–२ मा उम्मेदवारी दिएका महेश बर्तौलाले १०४ वर्षीया कालिमाया मोक्तानको हातबाट आर्शिवाद लिएर चुनावी अभियान सुरु गरेका छन् । नेकपा एमालेको तर्फबाट मकवानपुुर–२ मा उम्मेदवारी दिएका बर्तौलाले सोमबार (आज) बिहान हेटौंडा उपमहानगरपालिका–३ बसामाी स्थित जम्बु चौतारीमा बस्दै आएकी कालिमायाको हातबाट आर्शिवाद ग्रहण गरेर चुनावी अभियान सुरु गरेका हुन् ।
राक्सिराङ गाउँपालिका स्थायी घर भएकी कालिमाया र उनका परिवार अस्थायी रुपमा बसामाडीमा बस्दै आएका छन् । १०४ वर्षकी कालिमायाले बर्तौलालाई टीका, माला र खादा लगाउँदै जीतको शुभकामना दिइन् । आफ्नै हातले दही खुवाउँदै उनले जितेर सांसद र मन्त्री बन्नु भन्दै आर्शिवाद दिइन् ।
जिउँदो भगवानको रुपमा रहेको जेष्ठ नागरिक आमाको हातबाट आर्शिवाद ग्रहण गरेर पार्टीको औपचारिक चुनावी कार्यक्रमको अभियान जम्बु चौतारीबाट गरिएको बर्तौलाले बताए । उनले २०७९ को निर्वाचनमा विजयी गराएर पठाएपछि निर्वाचन क्षेत्र र सिंगो मकवानपुरको लागि विभिन्न विकासका योजनाहरु ल्याउन सफल भएको बताए । सांसद निर्वाचित भएर काम गरिरहँदा ३२ महिनामै संसद विगठन भएपश्चात् काम गर्न बाँकी योजनाहरु पूरा हुन नसकेको बताए । ती योजनाहरु पूरा गर्नका लागि दोस्रो पटक अवसर दिनु बर्तौलाले आग्रह गरे ।
यस्तै, कार्यक्रमा नेकपा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले देश जलाउनेहरु विरुद्धको चुनाव भएको कारण सोचेर देश बनाउनेहरुलाई मतदान गर्नुपर्ने बताए । देश बनाउने पार्टी अरु कुनै नभएर नेकपा एमाले नै भएको कारण देश बनाउने पार्टीका उम्मेदवारलाई बहुमतको साथ विजय गराउनैपर्ने महत्वपूर्ण चुनाव भएको बताए । ‘पछिल्लो समय गाउँ बस्तीमा नकारात्मक भ्रमहरु सिर्जना भैरहेका छन्, लामाले भने, ‘राज्यको सम्पत्तिमा आगो लगाएर, राज्यको सम्पत्ति खर्च हुनेगरी ३२ महिनामै प्रतिनिधि सभालाई विगठन गर्ने काम भयो । यसको कारण को हो ? तँपाई हामी सबैले चिनेका छौँ । त्यसैले मत दिनुअघि सोचेर मात्रै मतदान गरौँ ।’
नयाँ दल भनेर मतदातामा भ्रम फैलाए पनि विकासका कामहरु सबै पूराना दलले गरेको लामाले बताए । एमालेका युवा, शिक्षित, शालिन र देशभक्त युवा उम्मेदवारलाई जिताएर मकवानपुर–२ मा आफ्नो अधिकार सुनिश्चित गर्न लामाले अनुरोध गरे ।
नेकपा एमालेकी केन्द्रीय सदस्य भारती पाठकले बर्तौलाले गत निर्वाचनमा निर्वाचित भएर गएपछि गरेका कामहरु, सदनमा उठाएका आवाजलाई आधार मानेर मतदान गर्नुपर्ने बताइन् । मकवानपुरका समस्यालाई संघीय संसदमा उठाएर केन्द्रीय स्तरमै ध्यानाकर्षण गराउन सक्ने सक्षम उम्मेदवार एमालेले अघि बढाएको कारण यो पटक मकवानपुर–२ मा बर्तौला बाहेक अरुलाई मत दिन नहुने बताइन् ।
औपचारिक उद्घाटन पश्चात् अब चुनावी भेटघाटलाई तीव्रता दिइने बर्तौलाले बताए । निर्वाचन कार्यालयको निर्देशन अनुसार फागुन ४ अघि कुनै सभा, समारोह, आमसभा जस्ता कार्यक्रम भने नगर्ने उनको भनाइ छ । बर्तौला २०७९ को प्रतिनिधि सभा निर्वाचनमा यसै क्षेत्रबाट पाँच दलीय गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई ४ हजार मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।


