मत माग्नुअघि मन बुझ्ने प्रयास : प्रलोपाका उम्मेदवार उप्रेतीले सार्वजनिक गरे क्यूआर
हेटौंडा / आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर–१ बाट उम्मेदवार बनेका तेजप्रसाद उप्रेती (रमेश) ले चुनावी राय संकलनका लागि क्यूआर सार्वजनिक गरेका छन् । जर्नादन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मकवानपुर–१ को उम्मेदवार बनेका उप्रेतीले यस क्षेत्रमा आफूले उठाउनु पर्ने विषय र प्राथमिकतामा राख्नुपर्ने रायहरु संकलनका लागि क्यूआर कोड सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् ।
उन्नत विकास सहितको विकल्प भन्ने मूल नाराको साथ चुनावी मैदानमा होमिएका उप्रतीले मतदाताबाट प्राप्त राय, सुझाव र सन्देशलाई प्राथमिकतामा राख्नका लागि क्यूआर कोड सार्वजनिक गरिएको बताए । मोबाइलको स्क्यानरमा गएर स्क्यान गरेपश्चात् सिधै राय र प्रतिक्रियाहरु लेखेर पठाउन सकिने व्यवस्था मिलाइएको हो ।
मतदाताबाट प्राप्त रायलाई शिरोउपर गरेर मतदातामाझमा पुग्ने प्रतिबद्धता गरेका छन् । मकवानपुरको समाजिक व्यक्तित्वको परिचय स्थापीत गरेका उप्रेती लामो समय वैकल्पिक शक्तिको रुपमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालमा आबद्ध थिए । बावुराम भट्टराई र जर्नादन शर्माबीच एकता भएपश्चात् उनी प्रलोपाबाट मकवानपुर–१ मा उम्मेदवारी दिएका हुन् ।
मकवानपुरको राजनीतिक वृत्तमा उप्रेती विश्वव्यापी अनुभव भएका युवा उम्मेदवारका रूपमा देखिएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मकवानपुर–१ मा उम्मेदवारी दिएका उप्रेतीले परम्परागत राजनीतिभन्दा माथि उठेर उन्नत विचारशीलताको विकल्प दिने लक्ष्य राखेका छन् ।
दक्षिण कोरियामा लामो समय काम गरेको अनुभव, जेसिजको राष्ट्रिय नेतृत्व सम्हालेको पृष्ठभूमि तथा शिक्षित, उद्यमशील र सामाजिक रूपमा सक्रिय व्यक्तित्वका कारण उप्रेती मकवानपुरको राजनीतिक वृत्तमा विश्वव्यापी अनुभव भएका युवा उम्मेदवारका रूपमा हेरिएका छन् ।
परम्परागत राजनीतिभन्दा माथि उठेर उन्नत विचारशीलताको विकल्प दिने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा उत्रिएको उनको भनाइ छ ।
राजनीतिक यात्रामा उप्रेती वैकल्पिक राजनीतिक धारबाट उदाएका युवा नेता हुन् । नयाँ शक्ति पार्टी नेपाल (२०७३) का संस्थापक सदस्य रहेका उप्रेतीले समाजवादी पार्टीको जिल्ला संयोजकको भूमिका समेत निर्वाह गरेका थिए ।


