भीमफेदी–८ मा घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण, ज्येष्ठ नागरिकमा खुसी

पालिका डायरी
११ माघ २०८२, १५:४६

हेटौंडा /  मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ मा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष विष्णु बहादुर लामाको नेतृत्वमा वडाले जनमुखी कामलाई प्राथमिकताका साथ अघि बढाएको छ। चुनावका बेला गरिएको प्रतिबद्धता अनुसार निर्वाचित भएको सुरुदेखि नै वडामा घरदैलो सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सञ्चालन गरिएको हो।

उक्त कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायत भत्ता पाउने लाभग्राहीहरूले आफ्नै घरआँगनमै सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि भीमफेदी–८ का बाआमाहरू निकै खुसी देखिएका छन्।

पहिले भत्ता लिन भीमफेदी, हेटौँडा तथा काठमाडौं जानुपर्ने, लाइन बस्नुपर्ने र स्वास्थ्य तथा यातायातका कारण समस्या भोग्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै स्थानीयले वडाको यो पहलको खुलेर प्रशंसा गरिरहेका छन्।

हाल भीमफेदी गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालय र महादेवटार केन्द्रबाट तैमासिक रूपमा सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको छ। वडाध्यक्ष लामाले आगामी दिनमा पनि ज्येष्ठ नागरिक तथा कमजोर वर्गलाई केन्द्रमा राखेर सेवा प्रवाहलाई अझ सहज, सरल र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय सरकारले नागरिकको घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यसहित अघि सारेको यो कार्यक्रम भीमफेदी–८ मा उदाहरणीय बनेको छ।

प्रतिक्रिया