आफैंलाई मतदान गर्न नपाउने यी हुन् मकवानपुरका उम्मेदवार
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मकवानपुरका दुई क्षेत्रमा ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्, तर आठ जना उम्मेदवारले भने आफैलाई मतदान गर्न नपाउने भएका छन् ।
निर्वाचन आयोगले आसन्न निर्वाचनमा अन्तरजिल्ला मतदानको व्यवस्था गरेको छैन । जसले गर्दा एउटा निर्वाचन क्षेत्रमा मतदाता नामावली रहेका उम्मेदवारले अर्को क्षेत्रमा उम्मेदवारी दिँदा मतदान गर्न नपाउने भएका हुन् ।
मकवानपुरमा मतदान गर्न नपाउनेमा सानादेखि ठूला दलका उम्मेदवार छन् । नेपाली कांग्रेसबाट मकवानपुर-१ को उम्मेदवार बनेकी महालक्ष्मी उपाध्याय डिना मकवानपुर-२ की मतदाता हुन् । मकवानपुरको भीमफेदी गाउँपालिका-७, शान्तिपथ स्थायी ठेगना भएकी उपाध्यायले आफूलाई मतदान गर्न पाउँदिनन् ।
अघिल्लो पटक २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उनी यसै क्षेत्रबाट उम्मेदवार बनेकी थिइन् । यसअघि चार पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेकी उपाध्याय पराजित भएकी थिइन् भने दुई पटक समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् । उनी नेपाली कांग्रेसको निर्वमान सहमहामन्त्री हुन् ।
त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार रामेश्वर रानाले पनि आफैलाई मतदान गर्न पाउँदैनन् । मकवानपुर-१ बाट उम्मेदवार बनेका रानाको स्थायी ठेगाना हेटौँडा उपमहानगरपालिका-११ हो । यो वडा मकवानपुर-२ मा पर्छ ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि टिकटक खोसिएको थियो । एमालेले राप्रपा नेपालसँग तालमेल गरेपछि कमल थापा उम्मेदवार बनेका थिए । उनले एमालेकै चुनाव चिह्नमा उम्मेदवारी दिएका थिए ।
यस पटक एमालेबाट उम्मेदवार बनेका रानाले आफैलाई मतदान गर्न पाउँदैनन् । उनी एमाले केन्द्रीय सदस्य हुन् । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार तेजप्रसाद उप्रेती (रमेश) ले पनि आफैलाई मतदान गर्न नपाउने भएका छन् । हेटौँडा उपमहानगरपालिका-१९ स्थायी ठेगाना भएका उप्रेती मकवानपुर-२ का मतदाता हुन् । उनी मकवानपुर-१ बाट उम्मेदवार बनेका छन् ।
यसैगरी, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट मकवानपुर-१ मा उम्मेदवार बनेकी विद्या श्रेष्ठले पनि आफैलाई मतदान गर्न नपाउने भएकी छन् । काठमाडौँ महानगरपालिका-२१ माकगल्लीकी श्रेष्ठ काठमाडौँ क्षेत्र नं. ९ की मतदाता हुन् ।
हेटौँडा सडक विस्तारको विरोधमा उत्रिएर कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी छोडेकी श्रेष्ठ श्रम संस्कृति पार्टीको उम्मेदवार बनेकी छन् । सडक विस्तारबाट पीडितहरूको आवाज बनेकी श्रेष्ठलाई मकवानपुरकै मतदाताको भर छ ।
श्रम संस्कृति पार्टीबाटै मकवानपुर-२ को उम्मेदवार बनेका युनेश लामा स्याङ्तानले पनि आफैलाई मतदान गर्न पाउँदैनन् । हेटौँडा-१२ ठेगाना भएका स्याङ्तान मकवानपुर-१ का मतदाता हुन् ।
नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट मकवानपुर-१ मा उम्मेदवारी दिएकी रञ्जना सुवालले पनि आफैलाई मतदान गर्न नपाउने भएकी छन्। भक्तपुर-१० की सुवाल भक्तपुर-१ की मतदाता हुन्। नेमकिपाबाटै मकवानपुर-२ का उम्मेदवार बनेका सरोज तामाङले पनि आफैलाई मतदान गर्न पाउँदैनन्। भक्तपुरको चाँगुनारायण नगरपालिका-६ का तामाङ पनि भक्तपुर-१ कै मतदाता हुन्।
यस्तै, मकवानपुर-२ मा उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार छविलाल वाइबाले पनि आफैलाई मतदाना गर्न नपाउने भएका छन्। हेटौँडा-१२ का बासिन्दा वाइबा मकवानपुर-१ का मतदाता हुन्।
बागमती प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार उम्मेदवारी दर्ता गर्ने उम्मेदवारको ठेगाना मतदाता नामावलीमा दर्ता भएको ठेगनालाई नै उल्लेख गरिएको छ। उनका अनुसार नामावलीमा दर्ता भएको ठेगाना अनुसार नै मतदान गर्न पाउने व्यवस्था निर्वाचन अधिकृतको कार्यालयले गरेको छ।
प्रतिनिधि सभा निर्वाचन ऐन, २०७४ को दफा ३८ को उपदफा १ मा कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावली नाम दर्ता भएका मतदाताले सोही गाउँपालिका वा नगरपालिकाको सोही वडाको निजलाई तोकिएको मतदान केन्द्रमा मतदान गर्नुपर्ने भन्ने उल्लेख गरिएको छ।
दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा बागमती गाउँपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाको वडा नं. १, २, ३ र ४ तथा हेटौँडा उपमहानगरपालिकाको वडा नंं. २, ४ देखि १० र १२ देखि १९ नम्बर वडा पर्छन्।
मकवानपुर-२ मा राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाको वडा नं. ५, ६, ७ र ८ तथा हेटौँडा उपमहानगरपालिकाको वडा नं. १, ३, ११ र १९ पर्छन्।


