प्रदेशबाट राजीनामा दिएर एउटै क्षेत्रमा भिड्दै श्रेष्ठ र मानन्धर

पालिका डायरी
८ माघ २०८२, १०:४५
प्रदेशबाट राजीनामा दिएर एउटै क्षेत्रमा भिड्दै श्रेष्ठ र मानन्धर

बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिएका दुईजना एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।

काठमाडौँ ७ बाट नेकपा एमालेका प्रकाश श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार वसन्त प्रसाद मानन्धर एउटै निर्वाचन क्षेत्रको उम्मेदवार बनेका हुन् ।

२०७९ को निर्वाचनमा श्रेष्ठ एमालेबाट काठमाडौँ प्रदेश सभा निर्वाचन क्षेत्र २(७) बाट उम्मेदवार बनेका थिए भने मानन्धर तत्कालीन नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा निर्वाचन क्षेत्र १(७) को उम्मेदवार बनेका थिए । निर्वाचित भएर प्रदेश सांसद बनेका दुवैजनाले गत सोमबार राजीनामा दिएका थिए ।

श्रेष्ठ बागमती प्रदेश सभामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । उनले यो अवधिमा दुईवटा मन्त्रालयको मन्त्री बने । प्रदेश सभाबाट राजीनामा दिएका दुवैजना एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

२०७९ को निर्वाचनमा काठमाडौँ–७ रास्वपाका गणेश पराजुली विजयी भएका थिए । पराजुलीले ८ हजार ७४३ मत ल्याएर विजयी हुँदा एमालेका उम्मेदवार शिवकुमार घिमिरेले ६ हजार ८ सय मत मात्रै प्राप्त गरेका थिए ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा लागि पनि पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेका श्रेष्ठ र नेकपाका मानन्धर सहित नेपाली कांग्रेसबाट प्रमोदहरी गुरागाईँले उम्मेदवारी दर्ता गराएका छन् ।

 

प्रतिक्रिया