कुलेखानीमा बोलेरो पिकअप दुर्घटना, एक जनाको मृत्यु

पालिका डायरी
८ माघ २०८२, ०८:०७

हेटौंडा /  गएराति करिब १ बजेको समयमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोला पुल नजिकै भिमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र.०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड बोलेरो गाडी ब्रेक फेल भई अनियन्त्रित भएर सडकबाट करिब ५–७ मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।

बोलेरोमा चालकसहित तीन जना सवार थिए। सहचालक सर्लाही जिल्ला वरथवा नगरपालिका–१ निवासी करिब १७ वर्षीय रोहन मण्डलको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।उपचारको क्रममा गम्भीर घाइते मण्डलको काठमाडौँ मेडिकल कलेजमा बिहान ४:४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ

अर्का सहचालक सोही ठाउँका करिब १६ वर्षीय छोटे पासवानको कम्मरमा चोट लागी अवस्था मध्यम रहेको छ भने चालक करिब २५ वर्षीय रामवली साहलाई सामान्य चोट लागेको छ।

तीनै जनालाई उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौँ पठाइएको थियो। दुर्घटनाको ब्रेक फेल भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया