पार्टी निर्णयबाट विचलित नहुन भट्टराईको आग्रह

पालिका डायरी
४ माघ २०८२, १०:३२
कोरोना नियन्त्रणमा एमालेले सरकारको ध्यानाकर्षण गराउने file photo

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले उम्मेदवार छनोटमा पार्टीले गरेको निर्णयबाट विचलित नहुन कार्यकर्तालाई आग्रह गरेका छन् । आईतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अझ उच्च मनोबल र एकताका साथ पार्टीका उम्मेदवारलाई विजयी बनाउन आ–आफ्नो स्थान र हैसियतबाट सक्रिय रहन पनि आह्वान गरेका छन्।

शनिबार केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बसेको एमाले सचिवालय बैठकले अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । केही जिल्ला र निर्वाचन क्षेत्रमा भने अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार टुंग्याउने भएका छन् ।

यसअघिको निर्वाचनमा एमाले उपमहासचिव भट्टराई विजयी हुँदै आएको ताप्लेजुङमा पनि उम्मेदवार टुंग्याउन बाँकी छ । शनिबारको सचिवालय बैठकमा योगेश भट्टराई आफैँ सहभागी थिए । तर, अध्यक्ष ओलीले इतर खेमालाई बाइपास गरेर उम्मेदवार टुंग्याएपछि भट्टराईले सामाजिक सञ्जालमा पार्टी निर्णयबाट विचलित नहुन आफू पक्षीय नेता कार्यकर्ताँलाई आह्वान गरेका हुन् ।

भट्टराईले फेसबुकमा लेखेका छन्, ‘नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ ।’

प्रतिक्रिया