देउवाले छाड्दा ‘मुख्यमन्त्री’ गुमाए, देउवालाई त्याग्दा सहमहामन्त्री भए

पालिका डायरी
४ माघ २०८२, १०:१९
नवनियुक्त मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा कुनै बेला नेपाली कांग्रेसभित्र तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्र थिए । देउवाकै कारण उनी प्रदेश सांसद हुँदै मुख्यमन्त्रीसम्म बन्न सफल भएका थिए ।

२०७९ को निर्वाचनमा नुवाकोट २ (२) मा चुनाव जित्दै बागमती प्रदेशसभामा प्रवेश गरेका उनी त्यही वर्ष प्रतिनिधि सभाको चुनाव लड्न चाहन्थे । २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका चर्चित नेता पोस्टबहादुर बोगटीलाई भारी मतान्तरले हराएर विजयी उनी प्रदेशमा झर्न चाहन्थेनन् ।

तर देउवा प्रतिनिधि सभा निर्वाचनका लागि टिकट दिन तयार नभएपछि लामा प्रदेशमा झर्न बाध्य भएका थिए । त्यतिबेला मुख्यमन्त्री बनाउने सर्तमा देउवाले लामालाई प्रदेश सांसदमा लड्न राजी गराएको चर्चा चलेको थियो । नभन्दै २०७९ को निर्वाचनमा धेरै सिट जितेर कांग्रेस बागमती प्रदेशसभामा सबैभन्दा ठुलो दल बन्न सफल भयो । प्रत्यक्ष २५ र समानुपातिकतर्फ १२ गरेर कांग्रेसले सबैभन्दा धेरै ३७ सिट जितेको थियो । तर प्रदेश सभामा प्रतिनिधित्व गरेका ७ दलमध्ये ६ दलले सहमतिमै संसदीय दलको नेता चुन्दा कांग्रेसमा भने निर्वाचन भयो ।

अनि कांग्रेसमा बागमती प्रदेश संसदीय दलको नेता बन्न प्रतिस्पर्धामा होमिए- देउवानिकटकै दुई सांसद कांग्रेस केन्द्रीय सदस्य लामा र प्रदेश सभापति इन्द्रबहादुर बानियाँ । जसमा लामा विजयी भए भने बानियाँ दल नेता बन्न असफल भए। अनि २०८१ साउन ९ मा मुख्यमन्त्री बन्न सफल भएका थिए- लामा । तर १ वर्ष ९ दिनपछि नै अर्थात् २०८२ साउन १८ मा उनी मुख्यमन्त्री पदबाट राजीनामा दिन बाध्य भए । कारण थिए- अन्य कोही नभएर दल नेतामा पराजित आफ्नै पार्टीका सांसद इन्द्रबहादुर बानियाँ ।

जसले आफ्नै पार्टीबाट बनेका मुख्यमन्त्री लामाप्रति संसदीय दलमा बहुमतको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराए । योसँगै लााले संसदीय दलको नेता पद गुमाए । अनि संसदीय दलको नेता चुन्न फेरि गरियो चुनाव । तर यसपटक बानियाँ विजयी भएपछि लामा मुख्यमन्त्री पदबाट बाहिरिन बाध्य भए ।

त्यसो यसबिच मुख्यमन्त्री पद जोगाउन लामा आफूनिकट सांसदको टोली नै लिएर सभापति देउवाको तत्कालीन निवास बुढानीलकण्ठ पटकपटक नधाएका होइनन् । देउवाले पनि दुवै पक्षलाई राखेर आन्तरिक विवाद मिलाउन विभिन्न विकल्पमा छलफल गरेकै हुन् ।

यद्यपि अन्तत: उनले लामा समूहका सांसदलाई पनि मन्त्री बनाउने सर्तमा बानियाँलाई मुख्यमन्त्री बनाउने सहमति गराए । तर मुख्यमन्त्री बनेपछि बानियाँले देउवा निवासमा भएको भनिएको सहमतिअनुसार लामा समूहका सांसदलाई मन्त्री पनि बनाएनन् । जसमा देउवाले पनि बानियाँलाई कुनै दबाब दिएनन् ।

हो, त्यही बेलादेखि बागमती प्रदेशमा दुई फ्याक भएको थियो- कांग्रेस । एउटाको नेतृत्व लामाले गरे भने अर्को समूहको अगुवाइ बानियाँले । यहीबिच केन्द्रमा कांग्रेसभित्र सुरु भयो- विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद । यसै अवसरमा लामा लागे- विशेष महाधिवेशन पक्ष अर्थात् गगन थापा नेतृत्वको समूहतर्फ ।

यही पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा उनी पनि सहमहामन्त्री बन्न सफल भएका छन् । अब लामा नुवाकोटबाट प्रतिनिधि सभा निर्वाचनमा होमिने तयारीमा छन् ।

तर पहिले एउटा पदमा रहेका व्यक्तिलाई टिकट दिने कि नदिने भन्ने निर्क्यौल गर्न बाँकी रहेका कारण यो विषय छलफलमै रहेको लामा निकट स्रोत बताउँछ ।

प्रतिक्रिया