नगरस्तरीय छात्र भलिवल प्रतियोगिता सुरु

पालिका डायरी
२ माघ २०८२, १८:०३
नगरस्तरीय छात्र भलिवल प्रतियोगिता सुरु

हेटौंडा /  शिक्षा, स्वास्थ्य र खेलकुद पहिलो प्राथमिकता भन्ने उद्देश्यका साथ तेस्रो वडास्तरीय खेलकुद महोत्सव–२०८२ अन्तर्गत छात्र भलिवल प्रतियोगिता सुरु भएको छ। नगर प्रमुख मीनाकुमारी लामाले शुक्रबार उद्घाटन गर्नुभएको प्रतियोगिता आधुनिक राष्ट्रिय माविको परिसरमा भइरहेको छ।

हेटौंडा उपमहानगरपालिका–४ नं. वडाको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको संयोजन तथा आधुनिक राष्ट्रिय माविको व्यवस्थापनमा भएको प्रतियोगितामा नगरभित्रका १४ वटा विद्यालयका टिम सहभागी रहेको प्रतियोगिता संयोजक राजाराम पोखरेलले जानकारी दिए।

माघ २ र ३ गते हुने भलिवल प्रतियोगिताको उद्घाटन समारोह ४ नं. वडा अध्यक्षको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा ११ नं. वडा अध्यक्ष जुना दाहाल, आधुनिक राष्ट्रिय माविका प्रअ रामसागर गुरागाईं, श्रमिक माविका प्रअ श्रीराम दाहाल, शिक्षक कृष्णगोपाल श्रेष्ठको उपस्थिति रहेको थियो भने आधुनिक राष्ट्रिय माविका व्यवस्थापन समिति अध्यक्ष समीम महोमदको अध्यक्षता रहेको थियो।

प्रतिक्रिया