प्रदेश छोडेर प्रतिनिधि सभामा ‘इन्ट्री’ गर्ने ताकमा बागमतीका यी चार सांसद
आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन बागमती प्रदेशका ४ जना सांसदले राजीनामा दिने तयारी गरेका छन्। हाल बागमती प्रदेश सभा सांसद रहेका ४ जना सांसदको प्रतिनिधि सभा निर्वाचनमा होमिने तयारी गरेका हुन्।
एमालेबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का एक गरी चार जना सांसदले राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिने भएका हुन्।
एमालेबाट २०७९ को निर्वाचनमा काठमाडौँ प्रदेश सभा २(७) बाट निर्वाचित सांसद प्रकाश श्रेष्ठ आउँदो प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ–७ बाट चुनाव लड्ने भएका हुन्। बागमती प्रदेशका पूर्वमन्त्री समेत रहेका श्रेष्ठको नाम पहिलो नम्बरमा सिफारिसमा परेको एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले बताए। यद्यपि, उनको टिकट भने पक्का भैसकेको छैन।
२०७९ को निर्वाचनमा उनले ५ हजार २१८ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित हुँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सविन तामाङले ५ हजार १३७ मत प्राप्त गरेका थिए।
पहिलो कार्यकालमा मन्त्री बन्न नपाएका श्रेष्ठ दोस्रो कार्यकालमा भने दुईपटक मन्त्री बन्ने अवसर प्राप्त गरे। उनले करिब ३ महिना उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाले भने १ वर्ष कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
यस क्षेत्रबाट ११ जनाको नाम सिफारिसमा परे पनि आफ्नो नाम पहिलो नम्बरमा रहेको कारण टिकट पाउनेमा शंका नरहेको श्रेष्ठ बताउँछन्।
पार्टी शीर्ष तहबाटै जित्ने बलियो सम्भावना भएका उम्मेदवारलाई टिकट दिने निर्णय स्वरुप आफ्नो नाम जिल्लाले पठाएको बताउँदै उनले भने, ‘दुईपटक प्रदेशमा विजयी भएँ। यदी आउँदो फागुनमा निर्वाचन हुने नै भयो भने अध्यक्षज्यू (केपी शर्मा ओली)ले जित्ने सम्भावना भएका उम्मेदवार उठाउनुपर्छ भन्नुभएको छ। उहाँले नै प्रदेश छोडेर प्रतिनिधिमा आउन भन्नुभएपछि उम्मेदवारमा आकांक्षा देखाएको हुँ।’
टिकट पक्का भएको खण्डमा आउँदो ४ गते प्रदेश सभा सदस्यबाट राजीनामा दिन हेटौँडा आउने उनले बताए।
यता, २०७९ को आम निर्वाचनमा काठमाडौँ २ (६) बाट निर्वाचित भएका सांसद अमन कुमार मास्के फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ ६ बाट चुनावी मैदानमा होमिने तयारीमा छन्। उनी सहित १२ जना नेताहरूको नाम सिफारिस गरेर पठाइएकोमा मास्केको नाम पहिलो नम्बर छ।
उनले बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा एक वर्ष कार्यभार सम्हालेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली निकट मास्केलाई ओलीकै ग्रिन सिग्नलमा पहिलो नम्बरमा नाम सिफारिस गरिएको एमाले नेताहरू बताउँछन्।
यता, तत्कालीन नेकपा माओवादी केन्द्रका प्रदेश सांसद युवराज दुलाल पनि प्रदेशबाट राजीनामा दिएर प्रतिनिधि सभामा होमिने तयारीमा छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सिन्धुपाल्चोक–२ बाट एकल सिफारिसमा परेका दुलाल प्रदेश सांसदबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिने तयारीमा जुटेका हुन्।
सिन्धुपाल्चोक १ (२) बाट दुईपटक चुनाव जितेर बागमती प्रदेश सभा सांसद बनेका दुलालको यो दोस्रो कार्यकाल हो। २०७४ को पहिलो कार्यकालमा उनले दुईवटा मन्त्रालय सम्हाले। लामो समय प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा रहेका उनले दोस्रो पटक भौतिक पूर्वाधार विकास मन्त्री समेत बने।
दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा नेकपाले क्षेत्र नम्बर १ मा माधव सापकोटाको नाम एकल सिफारिस गरेको थियो भने क्षेत्र नम्बर २ मा दुलालको नाम एकल सिफारिस गरेको थियो। यो सँगै उनले आउँदो माघ ५ गते अगावै प्रदेश सांसदबाट राजीनामा दिने तयारी गरेका छन्।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री समेत रहेका बागमती प्रदेशका पूर्वसभामुख भुवन कुमार पाठकले पनि प्रदेश सांसदबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिने तयारी गरेका छन्। उनको नाम राप्रपाले काठमाडौँ–४ बाट पहिलो नम्बरमा सिफारिस गरेको छ। २०७९ को आम निर्वाचनमा काठमाडौँबाट समानुपातिक सांसद बनेका पाठक २९ पुस २०७९ मा बागमती प्रदेश सभा सभामुखमा निर्वाचित भएका थिए।
यी चार जना बाहेक एमालेका पूर्वमन्त्री समेत रहेका कृष्ण प्रसाद सिलवाल, राप्रपाकी सांसद कुमारी तामाङ, नेकपाका सांसद प्रेमबहादुर पुलामी छिन्तु, कुमारी मोक्तान लगाएत सांसदहरुको नाम सिफारिस भएको छ। तर धेरैजना आकांक्षीहरूका कारण प्रतिनिधि सभा निर्वाचनका लागि टिकट हात पार्न भने सकस देखिएको छ।
नेपाली कांग्रेसका सांसद तथा मन्त्रीहरू पनि प्रतिनिधि सभा निर्वाचनमा होमिन आकांक्षी देखिए पनि एउटै व्यक्तिलाई दोहोरो जिम्मेवारीमा जान नदिने पार्टीको निर्णयका कारण ब्याक भएका छन्। तथापि, हालसम्म बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा, पूर्वअर्थमन्त्री कुन्दनराज काफ्ले, पूर्वमन्त्रीहरू तीर्थ लामा, रामकृष्ण चित्रकार लगाएतले आकांक्षा देखाएका छन्।



