कैलाशले थप्यो २ करोड ५१ लाख बजेट, चेली सहित विभिन्न व्यक्ति सम्मानित

पालिका डायरी
३० पुष २०८२, १७:३५
कैलाशले थप्यो २ करोड ५१ लाख बजेट, चेली सहित विभिन्न व्यक्ति सम्मानित

मकवानपुरको कैलाश गाउँपालिकाले संशोधित बजेट पारित गरेको छ। गाउँपालिकाको बिहीबार बसेको १७औँ गाउँसभाले आन्तरिक स्रोततर्फबाट सञ्चालित २ करोड ५१ लाख रुपैयाँ संशोधित बजेट पारित गरेको हो।

गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले सभामा पेस गरेको उक्त बजेट कार्यक्रमलाई अध्यक्ष लोकबहादुर मुक्तानले निर्णयार्थ पेस गरेका थिए। अध्यक्ष मुक्तानले पेस गरेको उक्त बजेट कार्यपालिका सदस्यहरूले सर्वसम्मत रूपमा पारित गरेका थिए।

कैलाशले चालुतर्फ आन्तरिक स्रोतबाट ९ करोड ४२ लाख रुपैयाँ, पुँजीगततर्फ १५ करोड ४८ लाख रुपैयाँसहित कुल २४ करोड ९१ लाख रुपैयाँ संशोधित बजेट कार्यान्वयनमा लाने भएको छ। गाउँपालिकाले आन्तरिक स्रोतबाट २ करोड ५१ लाख रुपैयाँ बजेट थप गरेको हो।

यसअघि गत असार १० मा गाउँपालिकाले ५४ करोड २९ लाख रुपैयाँ बजेट ल्याएको थियो। कैलाशले उक्त बजेटमा समावेश भएको विशेष तथा सशर्त अनुदानबापतको रकम भने संशोधन गरेको छैन। कैलाशले १७ वटा आयोजनाहरू कटौती तथा हटाएको छ भने ४३ वटा योजनाहरू थप गरेको छ। १४ योजनामा रकम घटाउनुका साथै ४ योजनामा रकम थप गरेको छ।

सभामा विधायन समितिका संयोजक भुवनसिंह घलानले गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँपालिकाको बेरुजु फर्स्यौट कार्यविधि ०८२, गाउँपालिकाको लेखा समिति गठन तथा सञ्चालन कार्यविधि तथा गाउँसभा सचिवालय स्थापना तथा कार्य सञ्चालन कार्यविधि प्रस्तुत गरेका थिए। त्यस्तै, उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले चालु आर्थिक वर्षको विनियोजन ऐन, बजेट तथा कार्यक्रमको संशोधित अनुमानसम्बन्धी विभिन्न एजेन्डाका विषय प्रस्तुत गरेका थिए।

चेली सहित विभिन्न व्यक्ति सम्मानित

सभामा चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत चेलीहरू सहित विभिन्न क्षेत्रका कर्मचारी र व्यक्तिहरूलाई नगदसहित सम्मान गरिएको थियो। १२ कक्षा उत्तीर्ण पश्चात् २० वर्ष पूरा भई विवाह गर्ने ७ जना चेलीहरूलाई नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

सम्मानित हुनेमा कैलाश–९ की आइस्का थापा, कैलाश–१० की कुमारीमाया स्याङ्तान र एस्तर प्रजा, कैलाश–१ की विमला थापामगर र रीता थापामगर, कैलाश–२ की पुष्पा प्रजा तथा कैलाश–५ की सिर्जना दर्लामी मगर रहेका छन्।

त्यस्तै, स्वास्थ्यतर्फ नामटार स्वास्थ्य चौकीकी सिनियर अनमी नानीमैयाँ सत्याल, लिच्चे आधारभूत स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट सरफोदिन राउत गद्दी तथा गोगने स्वास्थ्य चौकीका कार्यालय सहयोगी टोलकुमारी सुवेदीलाई नगदसहित सम्मान गरिएको थियो।

यसैगरी प्रशासन तथा प्राविधिकतर्फ कैलाश गाउँपालिकामा कार्यरत सहायक महिला विकास निरीक्षक रमिला सापकोटा, कृषि प्राविधिक उमेश गुरुङ, कार्यालय सहयोगी भाइविक्रम मल्ल, कैलाश–९ मा कार्यरत सब–इन्जिनियर धिरेन्द्र राई, कैलाश–२ का वडा सचिव नितेश कुमार यादव, कैलाश–१ का सामाजिक परिचालक राजकुमार मुक्तान तथा कैलाश–८ का कार्यालय सहयोगी विशाल मुक्तानलाई नगदसहित सम्मान गरिएको थियो।

त्यस्तै, शिक्षा क्षेत्रतर्फ एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय कमलादेवी माध्यमिक विद्यालय, एसईईमा उत्कृष्ट अंक ल्याउने आयुष्मा घिसिङ, यमबहादुर गुरुङ र स्वर्णिम स्याङ्बो, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने अरुणा घलानलाई नगदसहित पुरस्कृत गरिएको थियो।

यसैगरी सेवा निवृत्त पूर्व प्रअ मोहन शिवाकोटी, प्रधानाध्यापकद्वय देवेन्द्र प्रसाद यादव र निर्मला सिन्तान, शिक्षकतर्फ प्राविधिक सन्तोषी साह र लक्ष्मण प्रसाद बर्तौला, निमावितर्फ मञ्जुकुमारी कार्की र परमानन्द झा, प्रारम्भिक बाल विकास सहजकर्तातर्फ बुद्धिमाया मुक्तान, विद्यालय कार्यालय सहयोगीद्वय सिंहबहादुर प्रजा र पदमराज रुम्बालाई नगदसहित सम्मान गरिएको थियो।

त्यस्तै, सञ्चारकर्मीतर्फ प्रष्टखबर डटकमका सुनिल शिवाकोटी, निर्माण व्यवसायीतर्फ पल्भिस कन्स्ट्रक्सन एन्ड सप्लायर्सका सञ्चालक सुनिल शर्मा, उपभोक्ता समितितर्फ वाक्सिराङ कालिका मन्दिर संरक्षण उपभोक्ता समिति कैलाश–८ का अध्यक्ष वीरबहादुर लोप्चन, मेडपा उद्यमीतर्फ रेशम थिङ तथा कृषकतर्फ सूर्यबहादुर थिङलाई नगदसहित सम्मान गरिएको थियो।

प्रतिक्रिया