हेटौंडा / नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को हेटौंडा उपमहानगरपालिका–११, १२ र ०४ नम्बर वडामा पार्टी एकता सन्देश कार्यक्रम सम्पन्न भएको छ।
पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सामाजिक विकास पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कुमारी मुक्तानले विचार र दर्शन नभए देशको आमूल परिवर्तन गर्न नसकिने बताइन्। मुक्तानले हामीले केपी शर्मा ओलीलाई महान नेता बनायौँ तर उनको घमण्डले देश बर्बाद भएको आरोप लगाइन्।
हेटौंडा–११ मा भएको एकता कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका बागमती प्रदेश अध्यक्ष ललितबहादुर घलानले जेन्जी आन्दोलनअघिका सत्तासीन पार्टीका सरकार र पार्टी प्रमुख नेताहरूले देशलाई युक्रेनजस्तै कठपुतली बनाउन खोजेको बताए। उनले भेनेजुएला, युक्रेन र बङ्गलादेशको उदाहरण दिँदै देशलाई बाह्य शक्तिको इसारामा नचाउन खोजिएको आरोप लगाए।
यस्तै अर्का वक्ता कमलचन्द्र सुमनले हामीमा भएको एकले अर्कालाई दोष्याएर आफू राम्रो बन्ने र भोट माग्ने प्रवृत्ति हटाउनुपर्ने सुझाव दिए। अहिले हाम्रा आफ्नै नेता र अरू नेताहरू भारत भ्रमणमा व्यस्त हुनु भनेको हामी चुनाव नजिकै छौँ भन्ने संकेत भएको उनको भनाइ थियो। अरूको इसारामा चुनाव लड्ने प्रवृत्तिदेखि हाम्रै नेताहरू पनि सच्चिनुपर्ने धारणा सुमनले व्यक्त गरे।
कार्यक्रममा नेकपा नेता विजय गौतम, विष्णुमाया लामा, विवेक राई, प्रदीप अर्याल, देवनारायण चौलागाईं, रामकृष्ण बस्नेत, सूर्यबहादुर थिङ, सुक्रराज लामा, देवकृष्ण थोकर, मधुकुमार थापामगरलगायत नेताहरूको उपस्थिति रहेको थियो।


