ढुक्क भएर सामुदायिक विद्यालयमा आफ्ना बालबालिका पढाउनुस् : वडा अध्यक्ष सिग्देल

पालिका डायरी
२६ पुष २०८२, १९:४२

हेटौँडा–४ मा रहेका सामुदायिक विद्यालयहरूमा गुणस्तर सुनिश्चित गरिएकोले आफ्ना बालबालिकालाई ढुक्क भएर सामुदायिक विद्यालयमै पढाउन वडा अध्यक्ष सिग्देलले आग्रह गर्नुभएको छ।

कर्रा टोल विकास संस्थाको ८औँ साधारणसभाको उद्घाटन गर्दै उहाँले शिक्षाको विकासका लागि सामुदायिक विद्यालयको शिक्षा गुणस्तर सुधार गर्न जनप्रतिनिधि, व्यवस्थापन समितिहरू र विद्यालय प्रशासन लागिपरेको बताउनुभयो। विद्यालयहरूले बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म सुविधा सम्पन्न रूपमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन् भन्ने उहाँको भनाइ थियो।

विद्यालयको भौतिक पूर्वाधार, सुविधा सम्पन्न विभिन्न ल्याबहरू, स्तरीय बाल विकास केन्द्र, दक्ष र अनुभवी शिक्षक, व्यवहारिक शिक्षाका लागि विभिन्न अतिरिक्त क्रियाकलाप तथा तालिमको व्यवस्था, शिक्षक र विद्यार्थीलाई सम्मान तथा पुरस्कार, विभिन्न प्रतिस्पर्धात्मक र रचनात्मक क्रियाकलापहरू विद्यालयले व्यवस्थापन गरिरहेको र वडा कार्यालयले प्राथमिकताका साथ कार्य गरिरहेको उहाँले बताउनुभयो। साथै, संस्थागत र सामुदायिक विद्यालयबीचको सहकार्य र स्वस्थ प्रतिस्पर्धाबाट गुणस्तर सुधार गर्ने लक्ष्य राखिएको वडा अध्यक्षको भनाइ रहेको छ।

वडामा भुटनदेवी मावि, आधुनिक मावि र श्रमिक मावि सामुदायिक विद्यालय पर्दछन्।

साधारणसभामा वडा अध्यक्ष सिग्देलले आगामी २०८४ सालसम्म वडाका सबै मुख्य तथा भित्री सडकहरू कच्ची सडक र खाल्डाखुल्डीमुक्त गर्ने जानकारी दिनुभयो। आफू वडा अध्यक्षमा निर्वाचित भएपछि मुख्य सडकहरूको ८० प्रतिशत स्तरीकरण गरिएको र भित्री सडकहरूको ९० प्रतिशत स्तरीकरण गरी कच्ची सडक तथा खाल्डाखुल्डीमुक्त गरिएको दाबी उहाँले गर्नुभयो।

साधारणसभाले अजिव भट्टराईको अध्यक्षतामा र अर्जुन पोखरेलको सचिवतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक केशव अर्यालले जानकारी दिनुभयो।

प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै साधारणसभा संस्थाका अध्यक्ष चन्द्राकान्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रतिक्रिया