प्रगति माविको स्वर्ण जयन्ती विविध कार्यक्रमसहित मनाइँदै

पालिका डायरी
२६ पुष २०८२, १९:३८

हेटौंडा /  पशुपतिनगरस्थित प्रगति माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती महोत्सव विविध शैक्षिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रमसहित मनाउने भएको छ।

वि.सं. २०२२ मा स्थापना भएको यस विद्यालयले २०८२ साल माघ ५ गतेदेखि माघ ९ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने विद्यालयले जनाएको छ। स्वर्ण जयन्तीको अवसरमा विद्यालयले शैक्षिक सुधार, भौतिक पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याउने उद्देश्य लिएको छ।

महोत्सवअन्तर्गत जिल्ला स्तरीय महिला शिक्षक भलिबल प्रतियोगिता, छात्र भलिबल प्रतियोगिता, जिल्ला स्तरीय शिक्षक सम्मेलन, विविध अतिरिक्त क्रियाकलाप, विद्यार्थी साइकल र्‍याली, मानवसेवा आश्रम सहयोग तथा विद्यालय परिसर सरसफाइ कार्यक्रम सञ्चालन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछानेले जानकारी दिए।

त्यसैगरी स्वर्ण महोत्सवको मुख्य दिन स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन, विद्यालय गान सार्वजनिकरण, शैक्षिक प्रदर्शनी, सम्मान कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने अध्यक्ष लामिछानेले बताए।

साथै साहित्य सम्मेलन, विद्यार्थी तथा अभिभावकका लागि खेलकुद तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थी पुरस्कार वितरण तथा पूर्व विद्यार्थी सांस्कृतिक प्रस्तुति पनि कार्यक्रमअन्तर्गत समावेश गरिनेछ।

महोत्सवको अन्तिम दिन सरस्वती पूजा, स्व. राधादेवी शाहको प्रतिमा अनावरण, सांस्कृतिक कार्यक्रम तथा समापन कार्यक्रम आयोजना गरिने जानकारी अध्यक्ष लामिछानेले दिए।

यस्तै विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले महोत्सवलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गरिएको बताए। उनले कार्यक्रम सम्पन्न गर्न करिब २२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र बाँकी रकम अक्षयकोषमा राखी गरिब तथा विपन्न विद्यार्थीलाई सहयोग गरिने जानकारी दिए।

पत्रकार सम्मेलनमार्फत विद्यालय प्रशासनले पूर्व विद्यार्थी, जनप्रतिनिधि तथा समाजसेवीलगायत सबै सहयोगी मनहरूलाई सहयोगका लागि अनुरोध गरेको छ।

प्रतिक्रिया