देशभरका उत्कृष्ट ११ स्थानीय तहमध्ये भीमफेदी गाउँपालिका सामाजिक सुरक्षा भत्ताका लागि ९३.३ प्रतिशत बायोमेट्रिक दर्ता सम्पन्न गर्दै मकवानपुरमै पहिलो बनेको छ।
पञ्जिकरण विभागको पछिल्लो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि सामाजिक सुरक्षा भत्ता नवीकरण तथा बायोमेट्रिक संलग्नता कार्यमा भीमफेदी गाउँपालिकाले उल्लेखनीय सफलता हासिल गरेको छ।
विभागको तथ्याङ्कअनुसार ९३.३ प्रतिशत बायोमेट्रिक कार्य सम्पन्न गर्दै भीमफेदी गाउँपालिकाले मकवानपुर जिल्लाभरमै प्रथम स्थान हासिल गरेको छ। साथै, देशभरका ७५३ स्थानीय तहहरूमध्ये ११औँ स्थान सुरक्षित गर्दै भीमफेदी गाउँपालिका राष्ट्रियस्तरमै उत्कृष्ट पालिकाको सूचीमा पर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ।
पञ्जिकरण विभागको कम्प्युटर सर्भरमा पटक–पटक देखिएको प्राविधिक समस्या तथा प्रणालीको सुस्तताका बाबजुद पनि गाउँपालिकाले लक्षित समयभित्रै उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको भीमफेदी गाउँपालिकाको पञ्जिकरण शाखाले जनाएको छ। वडा कार्यालयका कर्मचारीहरूको निरन्तर खटाइ, समर्पण र सेवाग्राहीप्रतिको जिम्मेवारीका कारण अधिकांश लाभग्राहीहरूको बायोमेट्रिक दर्ता समयमै सम्पन्न भएको जनाइएको छ।
भीमफेदी गाउँपालिकाले वडा तहका कर्मचारीहरूको मेहनतको उच्च कदर गर्दै यस सफलताको मुख्य श्रेय वडा तहमा कार्यरत कर्मचारीहरूलाई दिएको छ। सामाजिक सुरक्षा तथा पञ्जिकरण सेवा इकाई, भीमफेदी गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै फिल्डमा खटिएर कार्य गर्ने वडा सचिव, सहायक कर्मचारी तथा प्राविधिकहरूको अथक मेहनतको उच्च कदर गरेको छ।
विज्ञप्तिमा भनिएको छ: “सर्भर समस्या र भौगोलिक कठिनाइका बाबजुद पनि अहोरात्र खटिएर सेवाग्राहीहरूको बायोमेट्रिक दर्ता गर्ने कर्मचारीहरूको मिहिनेतकै कारण आज भीमफेदी गाउँपालिका देशकै उत्कृष्ट स्थानीय तहहरूको सूचीमा उभिन सफल भएको हो।”
पारदर्शी र सहज भत्ता वितरणतर्फ भीमफेदी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता जस्तो संवेदनशील तथा प्रत्यक्ष मानवीय सरोकारको विषयमा देखाएको तदारुकताले अन्य स्थानीय तहहरूका लागि प्रेरणाको स्रोत बनेको छ। समयमै बायोमेट्रिक दर्ता सम्पन्न भएसँगै आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया अझ पारदर्शी, प्रभावकारी र सहज हुने विश्वास लिइएको छ।


