भीमफेदी सुमो दुर्घटना अपडेट : यी हुन् मृतक र घाइते, दुई शवको अझै सनाखत भएन
मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा सुमो दुर्घटना हुँदा मृत्यु भएकाहरूको पहिचान खुलेको छ। आइतबार (हिजो) साँझ ५:२० बजे काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १ सय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको थियो।
मृतकहरूमा भारत बिहार राज्य पटना बस्ने ४२ वर्षीय रजनीस कुमार, मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडा बस्ने ४० वर्षीया सबिता लम्साल, हेटौंडा उपमहानगरपालिका–२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार राज्य बेगुसराई बस्ने ४९/५० वर्षीय अरबिन्द कुमार र हालसम्म पहिचान नखुलेका अन्दाजी ३६ वर्ष र ४० वर्ष उमेरका दुई पुरुष रहेका छन्।
दुर्घटनामा घाइते भएकामध्ये सुमो चालक गणेश थापा र १२ वर्षीय अभ्यास लम्सालको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको छ। अन्य एक घाइते २१ वर्षीया रिचा चौधरीको अवस्था मध्यम रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिए।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरबाट प्रहरी निरीक्षक सन्त कुमार श्रेष्ठको कमाण्डमा ट्राफिकसहित १० जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी र स्थानीयको सहयोगमा सुमोमा सवार ९ जनाको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो।
हेटौंडा अस्पतालमा उपचारका क्रममा ६ जनालाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरबाट प्रहरी निरीक्षक सन्त कुमार श्रेष्ठको कमाण्डमा ट्राफिकसहित १० जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी र स्थानीयको सहयोगमा सुमोमा सवार ९ जनाको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो।
हेटौंडा अस्पतालमा उपचारका क्रममा ६ जनालाई मृत घोषणा गरिएको डीएसपी बोगटीले जानकारी दिए।
दुर्घटनास्थलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराको नेतृत्वमा थप टोली परिचालित भएको थियो।


