जुरीखेतमा सुमो दुर्घटना हुँदा ९ जना घाइते, सातको अवस्था गम्भीर
मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार साँझ करिब साढे ५ बजे काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो।
सुमोमा सवार ९ जनालाई प्रहरी तथा स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि हेटौँडा पठाइएको प्रहरीले जनाएको छ। ६ पुरुष र एक महिला र दुई बालबालिका रहेका छन्।
प्रारम्भिक जानकारीअनुसार ७ जनाको अवस्था गम्भीर र २ जना बालबालिकाको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ। प्रहरीका अनुसार घाइतेहरुको पहिचान खुल्न बाकी छ।
प्रतिक्रिया


