डिउटीमा रहेका ट्राफिक प्रहरी घाइते बनाई भागेका चालक पक्राउ
हेटौंडा / डिउटीमा रहेका ट्राफिक प्रहरीलाई घाइते बनाई फरार भएका कार चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गत १७ गते बिहीवार साँझ करिब ८ बजेको समयमा हेटौडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गरिरहेको थियो। सोही क्रममा नवलपुरतर्फबाट हेटौडा बजारतर्फ आउँदै गरेको नम्बर नखुलेको कारलाई रोकी ब्रेथलाईजर मेसिनमार्फत मदिरा सेवन (मा.प.से.) चेकजाँच गर्न लाग्दा कार चालकले एक्कासी सिसा बन्द गरी गाडी अगाडि बढाएका थिए।
भाग्ने क्रममा चालकले डिउटीमा खटिएका एक प्रहरी जवानलाई करिब १० मिटरसम्म घिसारी घाइते बनाई घटनास्थलबाट फरार भएका थिए।
घटनापछि प्रहरीले फरार कार र चालकको खोजतलास गर्ने क्रममा १८ गते शुक्रबार चितवनको भरतपुरबाट बा ६ च ८४०९ नम्बरको कार सहित चालकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–५, गर्दैई बस्ने ४६ वर्षीय बासुदेव आचार्य रहेका छन्।
प्रहरीले कारभित्र रहेको ब्रेथलाईजर मेसिन समेत बरामद गरी चालक र सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान कार्य भइरहेको जनाएको छ।


