भुटनदेवी मावि बन्यो शिक्षकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने देशकै पहिलो विद्यालय

पालिका डायरी
९ पुष २०८२, १९:४४
भुटनदेवी मावि बन्यो शिक्षकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने देशकै पहिलो विद्यालय

हेटौंडा /  हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले सामुदायिक शिक्षा क्षेत्रमा ऐतिहासिक कदम चालेको छ। विद्यालयले आफ्नै आन्तरिक स्रोत परिचालन गर्दै निजी स्रोतमा कार्यरत १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ। यससँगै भुटनदेवी मावि सामुदायिक विद्यालयहरूमध्ये शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नेपालकै पहिलो विद्यालय बनेको छ।

सामाजिक सुरक्षा कोष स्थापना अभियानका अभियन्ता तथा जिफण्ट केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले आयोजित विशेष कार्यक्रमका बीच आबद्ध सदस्यहरूलाई सामाजिक सुरक्षा कोषको कार्ड वितरण गरेका थिए । कार्यक्रममा बोल्दै उनले श्रम अधिकार र सामाजिक सुरक्षाको प्रत्याभूति दिन सामुदायिक विद्यालयहरू पनि सक्षम र उत्तरदायी हुन सक्छन् भन्ने उदाहरण भुटनदेवी माविले प्रस्तुत गरेको बताए ।

हेटौंडा उपमहानगर वडा नम्बर ४ का वाडा अध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष नवीन सिग्देलले यस पहले शिक्षक तथा कर्मचारीको दीर्घकालीन सामाजिक तथा आर्थिक सुरक्षा सुनिश्चित गरेको बताए ।  उनले सामाजिक सुरक्षा कोसमा आबद्द भए पछि विद्यालयको संस्थागत उत्तरदायित्व र विश्वासनीयता थप मजबुत बनाउने अपेक्षा गरिएको बताए । साथै यस कदमले अन्य सामुदायिक विद्यालयहरूलाई पनि सामाजिक सुरक्षा प्रणालीतर्फ अग्रसर गराउने प्रेरणा दिने विश्वास लिइएको छौ अध्यक्ष सिग्देलले भने ।

भुटनदेवी माध्यमिक विद्यालयको यो निर्णयलाई शिक्षा र श्रम अधिकारको क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि र उदाहरणीय अभ्यासका रूपमा हेरिएको पाहिन्छ ।

प्रतिक्रिया