जेलबाट छुटेपछि चितवनमा रविको सम्बोधन : जेनजीको साथ लिएर देश बनाउन अब हामी लाग्छौँ

पालिका डायरी
५ पुष २०८२, १४:२३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब देश बनाउने जिम्मा आफ्नो पार्टीको भएको दाबी गरेका छन्।

शनिबार (आज) चितवनमा विशेष सम्बोधन गर्दै सभापति लामिछानेले जेनजीको साथ लिएर अब आफूहरू देश बनाउन लाग्ने उद्घोष गरेका हुन्।

उनले रास्वपा २०८४ को चुनाव कुरिरहेका बेला जेनजीले बीचमै सरकारमाथि हस्तक्षेप गरेर सत्ता पल्टाइदिएको भन्दै खुसी व्यक्त गरे।

जेनजीले सरकारलाई तागत देखाइदिएको उनले बताए।

देशको संरचना जलेको देखेर आफूलाई दु:ख लागेको बताउँदै लामिछानेले थपे, ‘सिंहदरबार पनि बनाउँला, न्यायालय पनि बनाउँला तर वर्षौँदेखि खोसिएको हाम्रो सपना कसले बनाउँछ? हामी बनाउँछौँ। जेनजीको साथ लिएर अब देश बनाउन हामी लाग्छौँ। रास्वपा लाग्छ।’

उनले जेनजी भाइबहिनीको साथमा अब रवि दाइ थपिएको बताए।

सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतमा पौने चार करोड बुझाएर रवि शुक्रबार मात्र रिहा भएका हुन्। त्यसपछि यो उनको पहिलो राजनीतिक सम्बोधन हो।

प्रतिक्रिया