हेटौंडामा घर भत्काउने क्रममा तीन जना घाइते

पालिका डायरी
२८ मंसिर २०८२, १८:२८
file photo

हेटौंडा /  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ पिपलबोटस्थित उद्योग वाणिज्य संघ अगाडि रहेको एक घर भत्काउने क्रममा तीन जना कामदार घाइते भएका छन्।

आइतबार (आज) करिब दिउँसो ३:५० बजेको समयमा बिकी जैसवालको घर आफैंले कामदार लगाई भत्काउने क्रममा दुर्घटना हुँदा तीन जना घाइते भएको हो। स्थानीयको सहयोगमा प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जनाएको छ।

घटनामा घरधनीका भाई अजय जैसवाल संलग्न रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा मकवानपुरगढी गाउँपालिका–१ रानिसेरा बस्ने अन्दाजी २२ वर्षका सन्तोष भ्लोन, उदयपुर गाईघाट नगरपालिका–९ बस्ने अन्दाजी २६ वर्षका दिनेश चौधरी र उदयपुर बेलका नगरपालिका–१ पुरन्दा बस्ने अन्दाजी ३० वर्षका अरुण चौधरी रहेका छन्।

सन्तोष भ्लोन र दिनेश चौधरीको मकवानपुर सहकारी अस्पतालमा तथा अरुण चौधरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। तीनै जनाको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ।

घटनाको थप विवरण संकलन तथा अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया