शिवम्‌ले दियो ‘छात्रा’ लक्षित छात्रवृत्ति

पालिका डायरी
२३ मंसिर २०८२, १६:३८
शिवम्‌ले दियो ‘छात्रा’ लक्षित छात्रवृत्ति

हेटौंडा / सामुदायिक विद्यालयमा छात्राहरूको आकर्षण घट्दै गएको पृष्ठभूमिमा हेटौंडामा रहेको शिवम् सिमेन्ट लिमिटेडले विद्यालयमा अध्ययन गर्ने छात्रा विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति प्रदान गरेको छ।

हेटौंडा–१७ हटियास्थित उद्योग प्रभावित क्षेत्रको स्थानीय लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्रा विद्यार्थीसँग सम्बन्धित चालु शैक्षिक सत्र अन्तर्गत  विद्यालयले लिने शुल्क उद्योगले वहन गरेको हो।

विद्यालय सञ्चालनका लागि विद्यार्थीबाट लिइँदै आएको शुल्कमध्ये चालु शैक्षिक सत्रका आठ महिनाको शुल्कबापत पर्ने १ लाख ७९ हजार ४ सय रुपैयाँ मंगलबार विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा हस्तान्तरण गरिएको छ।

उद्योगले विद्यालयमा शैक्षिक छात्रवृत्ति वितरण कार्यक्रम गर्दै १७ नम्बर वडासदस्य लेखकुमारी तिमल्सिनाको उपस्थितिमा उद्योगका उपमहाप्रबन्धक राजेन्द्र शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद नेपाललाई छात्रवृत्तिको चेक हस्तान्तरण गरेका थिए। उद्योगले विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका छात्राहरूका लागि छात्रवृत्ति व्यवस्था गरेको जनाइएको छ।

विद्यालयमा अध्ययनरत छात्राहरूका लागि उद्योगले दिएको छात्रवृत्तिले विद्यार्थीको मनोबल उच्च बनाउने बताउँदै प्रधानाध्यापक यदुदेब उपाध्याय सिग्देलले उद्योगले गरेको सहयोगप्रति धन्यवाद दिए। उनले २०६८ सालमा स्थापना भएको उद्योगसँग विद्यालयले आगामी सत्रबाट पूर्ण छात्रवृत्ति उपलब्ध गराउन माग राखेको जानकारी दिए। उनले भने, “प्रभावित क्षेत्रमा रहेको विद्यालयबारे विशेष रूपले उद्योगले सोच्न जरुरी छ।”

प्रधानाध्यापक सिग्देलले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि वर्षमा कम्तीमा दुई पटक स्वास्थ्य शिविर सञ्चालन गर्ने र स्वास्थ्य बीमा गराउन जरुरी रहेको बताए। उद्योग यसअघि पनि विद्यालयमा सामाजिक दायित्वअन्तर्गत कम्पाउन्ड वाल निर्माण, स्कुल बस व्यवस्था, कम्प्युटर तथा प्रिन्टरलगायत शैक्षिक सामग्री उपलब्ध गराइसकेको जानकारी दिए।

कार्यक्रममा उद्योगका प्रबन्धकहरू सुशिला दाहाल, कल्याण सुवेदी, नरबहादुर खत्री, उपप्रबन्धक मुकेश कुमार, वरिष्ठ अधिकृत रामकुमार कँडेलसहित स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया