हेटौंडा सडक विस्तार: आइतबार घर नभत्काइने, व्यवस्थापनमा जोड दिने
हेटौंडा / हेटौंडा बजार क्षेत्रको सडक विस्तारको काम आज रोकिएको छ । शनिवार बिहानैदेखि सुरु भएको हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्य आज भने नहुने मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
राजमार्ग क्षेत्रको २५/२५ गज सडक सीमा कायम गर्नेगरी सडक डिभिजन कार्यालय हेटौंडाले हेटौंडा को मुख्य बजार क्षेत्रको बजारका घर तथा संरचनाहरू भत्काउने काम गरेको थियो । शनिवार मात्र हेटौंडा –१५ रातोमाटेदेखि मुख्य बजार क्षेत्रको मेनरोड बुद्ध चोक, राप्ती रोड, पिपल बोट तथा चैकीटोल ओरालोसम्मका संरचनाहरू भत्काइएको थियो ।
महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ क्षेत्रको हाल २५/२५ गज (२२.५ मिटर) क्षेत्रका नीजि तथा सार्वजनिक घर संरचनामा डोजर प्रोग गरेर भत्काइएको थियो । जोशीले सडक डिभिजन कार्यालय हेटौंडाको योजना अनुसार सुरक्षा संयन्त्र परिचालन गरेर निर्धारित क्षेत्रको अधिकांश संरचनाहरू भत्काइएको बताए ।
महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्तीपुल र बुद्धचोकबाट सामरी पुलसम्मको ९.५ किलोमिटर सडक सीमा खाली गर्नेगरी कार्यालयले मंसिर ५ मा सूचना जारी गरेको थियो । सोही अनुसार १५ दिनको म्याद सकिएको दिन उक्त कार्य अघि बढाएर संरचना हटाइएको उनले बताए ।
सो क्षेत्रको करिव २ किलोमिटर क्षेत्रको संरचना हटाउन बाँकी रहेकोले क्रमशः काम गरिने उनले बताए । त्रिभुवन राजपथको चौकीटोल क्षेत्रका केही स्थानमा सडक सीमामा निर्माण भएका घर तथा टहरा हटाउन बाँकी रहेको उनले बताए ।
उनका अनुसार आइतबार कुनैपनि स्थानको घर तथा टहरा हटाउने काम गरिने छैन । शनिवार भत्काइएको संरचनाहरूको व्यवस्थापनको काममा सडक कार्यालय, हेटौंडा उपमहानगरपालिका लगायतका निकायहरूसँग समन्वय गरेर काम गरिने उनले बताए ।



