भीमफेदीकाे इपामा यसै वर्ष सिंचाइ आयोजना पूरा हुँदै, चुनावी बाचा पूरा गर्ने अध्यक्ष लामाको प्रतिबद्धता

पालिका डायरी
१६ मंसिर २०८२, ११:१८
भीमफेदीकाे इपामा यसै वर्ष सिंचाइ आयोजना पूरा हुँदै, चुनावी बाचा पूरा गर्ने अध्यक्ष लामाको प्रतिबद्धता

हेटौंडा /  भीमफेदी गाउँपालिका–८ इपामा दशकौँ देखि प्रतीक्षित सिंचाइ आयोजना यसै आर्थिक वर्षभित्र सम्पन्न हुने भएको छ। करिब २ करोड रुपैयाँ लागतमा सञ्चालन हुने उक्त परियोजनाका लागि आवश्यक सबै सामग्रीको खरिद प्रक्रिया सकिएको र निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए।

अध्यक्ष लामाले चुनावका बेला जनतासँग गरिएको बाचा एक–एक गर्दै पूरा गर्दै जाने क्रममध्ये यो आयोजना अत्यन्त महत्वपूर्ण भएकाले अलि ढिलाइ भए पनि निर्माण अन्तिम चरणमा पुगेको बताए।

यस योजनाअन्तर्गत भीमफेदी–७ को कोगटे खोलामा सानो बाँध (ड्याम) निर्माण गरी पाइपमार्फत पानी भीमफेदी–८ इपा गाउँसम्म पुर्‍याइने छ। यसबाट  एक हजार  रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा स्थायी सिंचाइ सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको अध्यक्ष लामाले बताए।

योजनाको प्रभावकारी कार्यान्वयनका लागि संबंधित प्राविधिक कर्मचारीलाई यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिइसकिएको उनको भनाइ छ। उनले २ लाख लिटर क्षमताको ट्याङ्की निर्माणको शिलान्यास पनि भइसकेको जानकारी दिए।

सिंचाइ सुविधा उपलब्ध भएपछि उक्त क्षेत्रको कृषि उत्पादन वृद्धि हुने, किसानलाई सहज हुने र जनताको आर्थिक समृद्धिमा मद्दत पुग्ने अपेक्षा गरिएको अध्यक्ष लामाले उल्लेख गरे।

सम्पूर्ण स्थानीयवासी र सरोकारवालालाई आ–आफ्नो ठाउँबाट निर्माण कार्यमा सहकार्य र सहयोग गर्न गाउँपालिकाले आग्रह समेत गरेको छ।

प्रतिक्रिया