मकवानपुरमा ट्रामाडोल १५ हजार ९६० क्याप्सुल सहित अटो चालक पक्राउ

पालिका डायरी
११ मंसिर २०८२, १९:३६

हेटौंडा /  लागुऔषध नियन्त्रणमा सक्रिय मकवानपुर प्रहरीले ठूलो परिमाणको ट्रामाडोल क्याप्सुलसहित एक अटो चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हेटौंडा–१३ बस्ने २७ वर्षीय सोनम मोक्तान रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंसिर ११ गते बिहान ११:३० बजे, राप्ति रोडबाट थानाभर्‍याङतर्फ गइरहेको बा.प्र.०३–००१ ह ०१२६ नम्बरको अटोप्रति शंका लागेपछि प्रहरी टोलीले पछ्याउँदै गएको थियो। प्रहरीले सो अटो हेटौंडा उपमहानगर–१, तरकारी बजार क्षेत्रमा भेटिएको थियो।

अटो रोकेर खानतलासी गर्दा अटोभित्र लुकाइ–छिपाई राखिएको १५ हजार ९६० क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले अवैध लागुऔषधसहित अटो चालक मोक्तानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया