हेटौंडामा स्कुटरलाई जिपले ठक्कर दिँदा दुई जना घाइते

पालिका डायरी
११ मंसिर २०८२, १२:२५
accident

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५, क्याम्पा डाँडा नजिकैको कान्तिलोक सडक खण्डमा भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्। हेटौंडा बजारतर्फबाट चौघडा जाँदै गरेको बा.प्र.०३–००६ प २०७९ नम्बरको स्कुटरलाई चौघडाबाट हेटौंडा तर्फ आउँदै गरेको बा ३ च २२४ नम्बरको टोयोटा ल्यान्ड क्रुजर जिपले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा स्कुटर चालक हेटौंडा–६ हात्तिलेटका २६ वर्षीय युवराज अधिकारी टाउको तथा अनुहारमा चोट लागेर मध्यम घाइते भएका छन्। स्कुटरमा पछाडि सवार उनका दाजु ३० वर्षीय नारायण अधिकारी पनि टाउकोमा चोट लागेर मध्यम घाइते भएका छन्।

दुवै घाइतेलाई प्रारम्भिक उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएपनि थप उपचारका लागि चुरेहिल अस्पताल, मकवानपुरमा रिफर गरिएको छ। ठक्कर दिने ल्यान्ड क्रुजरका चालक ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँका ६१ वर्षीय गंगा लामालाई जिल्ला प्रहरीले नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया