दुई सय ८२ घरधुरीमा धारा निर्माणका लागि त्रिपक्षीय सम्झौता

पालिका डायरी
१० मंसिर २०८२, १६:५२
दुई सय ८२ घरधुरीमा धारा निर्माणका लागि त्रिपक्षीय सम्झौता

मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकामा दुई सय ८२ घरधुरीमा खानेपानी धारा निर्माणका लागि त्रिपक्षीय सम्झौता गरिएको छ। गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा बसेको हस्ताक्षर कार्यक्रममा साझेदार संस्था ‘वाइन टु वाटर नेपाल’ का राष्ट्रिय निर्देशक निजन श्रेष्ठ, गाउँपालिका अध्यक्ष मुक्तान र उपभोक्ता समितिका अध्यक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

साझेदार संस्था वाइन टु वाटर नेपालले गाउँपालिकाका विभिन्न वडामा चरणबद्ध सर्वे पछि पाँच वटा योजना छनोट गरेको थियो। सोही अनुरूप बुधबार त्रिपक्षीय सम्झौता गरिएको हो। उक्त योजनामा गाउँपालिकाको २५ प्रतिशत, संस्थाको ६५ प्रतिशत र उपभोक्ताको १० प्रतिशत योगदान रहने गरी सम्झौता गरिएको छ।

गाउँपालिकाको वडा ६ को मराङसिंह आगेटार खानेपानी उपभोक्ता समितिमा ६४ घरधुरी, वडा ७ को कोथलीटार बस्ताल खानेपानी उपभोक्ता समितिअन्तर्गत ६८ घरधुरी, वडा ८ को वाक्सिराङ माथिल्लो टोल खानेपानी उपभोक्ता समितिमा ५४ घरधुरी, वडा ९ को घैराङ खानेपानी उपभोक्ता समितिमा ७४ घरधुरी र वडा १० को थिङडाँडा खानेपानी उपभोक्ता समितिमा २२ घरधुरी गरी कुल २८२ घरधुरीका एक हजार ७३२ जना लाभान्वित हुनेछन्। उक्त योजनाका लागि तीन करोड ६७ लाख २८ हजार ५५८ रुपैयाँ बजेट रहेको छ, जसमा गाउँपालिकाले ९१ लाख ८२ हजार १३९ रुपैयाँ खर्च गर्नेछ।

सम्झौता पश्चात अध्यक्ष मुक्तानले सम्झौता अनुसार समिति र उपभोक्ताले दीगो हुने गरी काम गर्न आग्रह गरे। ‘एक घर–एक धारा’ अनुरूप वास परियोजना अन्तर्गत गाउँपालिका र अन्य साझेदारी संस्थाहरूसँग सहकार्य गर्दै आएको उनले बताए। योजनाको स्वामित्व र जिम्मेवारी उपभोक्ता समितिकै भएकाले ध्यानपूर्वक र समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका छन्। सुरक्षित खानेपानीले स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले योजनालाई दीगो बनाउने जिम्मा उपभोक्तामै रहने उनको भनाइ छ।

मानिसको मौलिक हकअन्तर्गत खानेपानी पर्ने भएकाले गाउँपालिकाले खानेपानी तथा सरसफाइको क्षेत्रमा निरन्तर काम गर्दै आएको उनले बताए। घरमा धारासँगै शौचालय अनिवार्य भएकाले शौचालय नभएका उपभोक्ताले शौचालय निर्माण गर्नुपर्ने उनले स्पष्ट पारे। शौचालय नभएका घरधुरीमा धारा जडान नहुने परियोजनाको प्रावधान रहेकाले अनिवार्य रूपमा शौचालय निर्माण गर्न आग्रह गरे।

कार्यक्रममा वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक श्रेष्ठले संस्था सन् २०१६ देखि खानेपानीको क्षेत्रमा काम गर्दै आएको बताए। समृद्ध परियोजना अन्तर्गत पाँच पालिकामध्ये कैलाशमा पनि योजना लिएर काम गर्न लागेको जानकारी उनले दिए। सुरक्षित खानेपानीले स्वास्थ्य, सरसफाइ र आयआर्जनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले २० वर्षसम्म सुरक्षित पानी आपूर्ति गर्ने लक्ष्यसहित योजना निर्माण भइरहेको बताए। पानी र सरसफाइको महत्व बुझेर उपभोक्ता स्वयं जागरुक हुनुपर्ने उल्लेख गर्दै उनले निर्माण पछि योजनाको संरक्षण उपभोक्ताकै दायित्व रहने बताए।

योजना अन्तर्गत कोथलीटार बस्ताल क्षेत्रमा ५ वटा इन्टेक, २ वटा डीसी र ३ वटा आरभीटी निर्माण गरिने जानकारी वास कन्सल्टेन्ट बासुदेव पाण्डेयले दिए। उनका अनुसार थिङडाँडा क्षेत्रमा १ इन्टेक, १ डीसी र २ आरभीटी, वाक्सिराङ माथिल्लो टोलमा १ इन्टेक, १ डीसी र ३ आरभीटी निर्माण गरिनेछ। त्यस्तै, घैराङ क्षेत्रमा १ इन्टेक र ३ आरभीटी, मराङसिंह आगेटार क्षेत्रमा १ इन्टेक, २ डीसी र ३ आरभीटी निर्माण गरिने छ। यी योजनामध्ये वडा ९ को एक विद्यालयमा पनि धारा निर्माण गरिने जनाइएको छ।

प्रतिक्रिया